काठमाडौं - थाइल्याण्डको बैंककस्थित नेपालकाे दूतवासले कम्बोडियामा भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल नेपाल फर्किन आग्रह गरेको छ। दूतावासले आइतबार एक सार्वजनिक सूचना जारी गरी ६६ जना नेपाली नागरिकलाई निर्धारित समयभित्र स्वदेश फर्किन अनुरोध गरिएको हो।
दूतावासका अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुगेका ती नेपाली नागरिकहरू भिसा नवीकरण नगरी बसिरहेको पाइएको छ। उनीहरूलाई स्वदेश फिर्ता गराउन आवश्यक यात्रा कागजातको व्यवस्था गरिएको र सम्बन्धित निकायमार्फत पटक–पटक सम्पर्क गर्न खोजिए पनि केही व्यक्तिहरू सम्पर्कविहीन रहेको जनाइएको छ।
कम्बोडिया सरकारले यसअघि सयौं नेपाली नागरिकको भिसा ओभरस्टे जरिवाना तथा शुल्क मिनाहा गरेको थियो। तर नयाँ कानुनी व्यवस्थाअनुसार तोकिएको समयभित्र देश नछाड्ने विदेशी नागरिकलाई पक्राउ, जरिवाना तथा कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
दूतावासले सूचनामा उल्लेखित व्यक्तिहरूलाई हवाई टिकटको व्यवस्था गरी आफ्नो यात्रा विवरण तत्काल कम्बोडियाको अध्यागमन विभागमा जानकारी गराउन पनि अनुरोध गरेको छ। नेपाल र कम्बोडियाबीच प्रत्यक्ष हवाई सेवा नरहेकोले ट्रान्जिट उडान सुनिश्चित गरेर मात्र टिकट खरिद गर्न आग्रह गरिएको छ। दूतावासले कम्बोडियामा रहेका सबै नेपाली नागरिकलाई भिसा नियमको पालना गर्न तथा कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन समेत सचेत गराएको छ।
