काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान सुरु भएको छ। विशेष साधारणसभा उद्घाटनपछि अध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया अघि बढाइएको हो।
निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति संयोजक राजेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्वाचनपछि व्यवसायीबीच एकता कायम गर्दै नीतिगत सुधारका लागि काम गर्न आग्रह गरे। पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले व्यवसायीहरू विभाजित हुँदा क्षेत्र नै कमजोर हुने भन्दै सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
निर्वाचनमा ७७४ व्यवसायी मतदाता रहेका छन् भने अध्यक्षदेखि सदस्यसम्मका १७ पदका लागि तीन समूहबाट पूर्ण प्यानलसहित ५१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। संघको नेतृत्वका लागि मेघनाथ भुर्तेल, डिकबहादुर खत्री ‘कुमार’ र हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वका प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। संघभित्रको नेतृत्व विवाद र संगठनात्मक अस्थिरतापछि हुन लागेको यस निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रले चासोका साथ हेरेको छ।