- स्वतन्त्र व्यवसायी समूह हरिबहादुर पाण्डेको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा
- एमालेनिकट प्रगतिशील मञ्चबाट डिकबहादुर खत्रीको नेतृत्वमा प्यानल तयार गरिँदै
- लोकतान्त्रिक एसोसिएसनमा उम्मेदवार टुंग्याउनै सकस≤ देवकुमार खोखाली, मेघनाथ भुर्तेल, नवराज केसी र प्रज्ञान न्यौपाने अध्यक्षका आकांक्षी
- गणतान्त्रिक मञ्च कसलाई साथ दिने भन्ने अलमलमै
हामी नेतृत्वमा पुगेपछि राज्यलाई दबाब होइन आग्रह गर्छौं । सरकार र व्यवसायीबीच पुलको रूपमा काम गर्छौं । यो पार्टी, त्यो पार्टी नभनी व्यवसायीको मुद्दा सरकारसँग निर्धक्क भएर अब हाम्रो टिमले राख्छ ।
हरिबहादुर पाण्डे
स्वतन्त्र व्यवसायी समूहबाट अध्यक्षका प्रत्याशी
- अध्यक्षमा स्वतन्त्र समूहबाट पाण्डे र प्रगतिशील मञ्चबाट खत्रीको उम्मेदवारी घोषणा
काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुबीच चुनावी सरगर्मी बढेको छ । व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा भोलि (२४ जेठ) नयाँ कार्यसमिति चुनिने भएसँगै चुनावी माहोल बढेको छ । विवादका कारण एक वर्षमै भुवनसिं गुरुङ नेतृत्वको कार्यसमिति विघटन भएपछि विशेष साधारणसभामार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो । जसकारण विभिन्न दलका घटक संस्थाहरु उम्मेदवार छान्न व्यस्त छन् ।
हामी २०औं वर्ष यो क्षेत्रमा लगानी गर्छौं तर पुस्तान्तरण गर्न सकेका छैनौं । मैले गरेको लगानी मेरो छोराले क्यारी गर्न सक्ने अवस्था बन्नपर्छ । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने मेरो सपना छ ।
डिकबहादुर खत्री
प्रगतिशील मञ्चबाट अध्यक्षका प्रत्याशी
शुक्रबार स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले उम्मेदवारी घोषणा गरेको छ । समूह हरिबहादुर पाण्डेको नेतृत्वमा चुनावी मैदानमा उत्रिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति तालमेल गरेर चुनावी मैदानमा होमिने भएसँगै एकता समितिका अध्यक्षसमेत रहेका पाण्डेलाई अध्यक्षमा उठाउने निर्णय भएको हो ।
समूहले व्यवसायीका मुद्दा सरकारसँग राख्न सक्ने व्यक्तिलाई संघको नेतृत्व दिएको दाबी गरेको छ । पाण्डेको प्यानलबाट प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा रास्वपाका श्रम उपभोक्ता समितिका केन्द्रीय सदस्यसमेत रहेका नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुइँटेल, कोषाध्यक्षमा विनिता कटवाल र सदस्यमा शिवशंकर यादवको उम्मेदवारी घोषणा गरेको छ । संघको कार्यसमितिमा १७ जना निर्वाचित भएर आउने प्रावधान छ । बाँकी रहेका उम्मेदवारको टुंगो आज (शनिबार) ११ बजेभित्र लगाउने जनाइएको छ ।
उम्मेदवारी घोषणासभामा बोल्दै अध्यक्षका उम्मेदवार पाण्डेले अब कुनै पार्टीको निर्देशनमा नभई स्वतन्त्ररुपमा काम गर्ने बताए । ‘हामी नेतृत्वमा पुगेपछि राज्यलाई दबाब होइन आग्रह गर्छौं । सरकार र व्यवसायीबीच पुलको रूपमा काम गर्छौं । यो पार्टी, त्यो पार्टी नभनी व्यवसायीको मुद्दा सरकारसँग निर्धक्क भएर अब हाम्रो टिमले राख्छ,’ पाण्डेले भने ।
यता नेपाल एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अध्यक्षमा मञ्चका वरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्रीलाई उठाउने भएको छ । वैदेशिक रोजगार क्षेत्रको छवि सङ्ल्याएर पुस्तान्तरण गर्न योग्य बनाउने सपना पूरा गर्न संघको नेतृत्व सम्हाल्न चाहेको खत्रीले बताएका छन् । ‘हामी २०औं वर्ष यो क्षेत्रमा लगानी गर्छौं तर पुस्तान्तरण गर्न सकेका छैनौं । मैले गरेको लगानी मेरो छोराले क्यारी गर्न सक्ने अवस्था बन्नपर्छ,’ खत्रीले भने, ‘यो क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने हो भने फिलिपिन्सका एजेन्सीजस्तै हामी पनि स्थापित हुन सक्छौं । यो व्यवसायलाई मर्यादित बनाउने मेरो सपना नै छ ।’ मञ्चबाट बाँकी पदाधिकारी तथा सदस्यको भने टुंगो लागिसकेको छैन ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा भने उम्मेदवारको टुंगो लगाउन सकस परेको छ । अध्यक्षका प्रत्यासीहरु आफ्नो अडानबाट पछि नहट्दा कसको नेतृत्वमा चुनावमा जाने भन्नेमा सहमति जुट्न नसकेको जनाइएको छ । एसोसिएसनबाट संघका निवर्तमान द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, पूर्वमहासचिव मेघनाथ भुर्तेल, संघका निवर्तमान सल्लाहकार नवराज केसी र एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने आकांक्षी देखिएका छन् ।
अघिल्लो निर्वाचनमा लोकतान्त्रिक एसोसिएसनसँग सहकार्य गरेको नेकपानिकट नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च भने यसपटक कोसँग सहकार्य गर्ने भन्ने अलमलमा देखिएको छ । निर्वाचनका लागि शुक्रबारसम्म साढे ७०० भन्दा बढी व्यवसायीले सदस्यता नवीकरण गराएका संघले जानकारी दिएको छ ।