काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका ३५ वर्षीय अस्कर हुमागाई,काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ४५ वर्षीय पबित्रजंग बुढाथोकी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने दोलखा घर भएका ४१ वर्षीया बेलु माया तामाङ रहेका छन् ।
पक्राउ मध्ये अस्कर र किशोरले जापान पठाइदिन्छु भन्दै २५ जना पीडितहरूबाट ४० लाख ३० हजार रूपैयाँ, पबित्रजंगले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ र बेलु मायाले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशोरलाई काठमाडौं महानगरपालिका-६ बाट र पबित्रजंगलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा अस्करलाई काठमाडौं महानगरपालिका-३१ बाट र बेलु मायालाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।