- चुनाव रोक्न भुवनसिं गुरुङ अदालतमा, आजै ‘स्टे अर्डर’ आउने दाबी
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा निर्वाचन सञ्चालन गर्न गठित प्रबन्ध समितिले असन्तुष्ट पक्षलाई पनि समेटेर निर्वाचन सम्पन्न गर्ने बताएको छ । समितिले बुधबार संघको कार्यालय सिफलमा पत्रकार सम्मेलन गरी यही जेठ २४ गतेका लागि तय गरिएको विशेष साधारणसभा तथा निर्वाचनमा सहभागी हुन व्यवसायीहरुलाई आह्वान गरेको हो ।
निवर्तमान अध्यक्ष भुवनसिं गुरुङ पक्षले भने निर्वाचन स्वीकार गरेको छैन । स्वार्थ समूहको चलखेलमा निर्वाचन गर्न लागिएको भन्दै यसलाई रोक्न गुरुङ बुधबार नै अदालत पुगेको स्रोतले बतायो । गुरुङले आजै अदालतबाट ‘स्टे अर्डर’ पाउने दाबी गरेको उनीनिकट एक व्यवसायीले प्रभावलाई बताए ।
प्रबन्ध समितिका संयोजक राजेन्द्र भण्डारीले संघलाई विषम् परिस्थितिबाट निकास दिन निर्वाचन गर्न लागिएको बताउँदै लोकतान्त्रिक प्रक्रियामा भाग लिन व्यवसायीहरुलाई आग्रह गरे । बहुमत पदाधिकारीको राजिनामापछि संघको कार्यसमिति काम गर्न नसक्ने अवस्थामा पुगेकाले विघटन भएको उनको भनाइ छ । ‘हामीले साधारणसभा रहरले गर्न खोजेको होइन । दुवै पक्षलाई मिलाउन धेरै पटक छलफल ग¥यौं,’ उनले भने, ‘दुईतिहाइ पदाधिकारीले राजीनामा दिएपछि बाँकी दुई जनाले मात्र केही गर्नसक्ने अवस्था थिएन । यस्तो अवस्थामा संस्था विघटन हुने संघको विधानमा रहेको प्रावधानअनुसार अगाडि बढेका हौं ।’

अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ गते कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए । संघको विधानको दफा २६ को उपदफा (४) को व्यवस्थाबमोजिम कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिए कार्यसमिति स्वतः विघटन हुने प्रावधान छ । त्यसबीचमा विवाद मिलाउने प्रयास भए पनि सफल नभएपछि वैशाख २८ गते अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमिति विघटन गरी सोही दिन सल्लाहकारहरुको रोहबरमा प्रबन्ध समिति गठन गरिएको थियो । उक्त समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाएर निर्वाचन सम्पन्न गराउनुपर्ने विधानमा उल्लेख छ ।
संस्थाको विधानबमोजिम गठन भएको प्रबन्ध समितिले निष्पक्ष वातावरणमा निर्वाचन गराउने संयोजक भण्डारीले बताए । ‘प्रबन्ध समिति विधानबमोजिम नै बनेकाले विधानअनुरुप नै चुनाव हुने हो । यो पक्ष त्यो पक्ष भन्ने छैन,’ उनले भने, ‘हामी दुवै पक्षलाई मिलाउन बनेको तटस्थ समिति हो । यसमा अदालतले केही आदेश दिएछ भने अदालतलाई मान्ने पक्षमा नै छौं ।’
निर्वाचनको प्रक्रिया अगाडि बढिसके पनि सबैभन्दा धेरै व्यवसायी आबद्ध भएको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले निर्वाचनमा भाग लिने या नलिने भनेर आधिकारिक निर्णय गरिसकेको छैन । हाल विशेष साधारणसभा तथा निर्वाचनका लागि प्रतिनिधि दर्ता गर्ने कार्य भइरहेको संघले जनाएको छ । जसका लागि प्रतिनिधि पठाउन व्यवसायीहरुलाई आह्वान गर्दै आज (बिहीबार)सम्मको समय निर्धारण गरिएको छ । तर चुनावलाई लिएर कसरी अगाडि बढ्ने भन्ने विषय संस्थाको कार्यसमिति बैठक बसेर निर्णय लिने एसोसिएसनले जनाएको छ ।
व्यवसायीहरु तयार नभई चुनाव सम्भव नहुने गुरुङनिकट निवर्तमान द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले बताए । ‘चुनावमै जाने भए २४ गतेको चुनावका लागि अहिलेसम्म माहोल तातिसक्नुपर्ने हो । लोकतान्त्रिक एसोसिएसनलाई बाहिर राखेर चुनाव हुँदैन,’ उनले भने, ‘अर्को पक्षले चुनाव गराउँछु भन्नु स्वाभाविक हो । चुनाव हुन नवीकरणका लागि आवश्यक सदस्य संख्या पनि पुग्नुपर्छ । त्यसो भएन भने पनि चुनाव नहुने प्रावधान छ ।’
प्रबन्ध समिति भने जसरी पनि चुनाव गराइछाड्ने पक्षमा देखिएको छ । आसन्न निर्वाचनका लागि २२ गते बिहान मतदाता नामावली प्रकाशन गर्नेदेखि उम्मेदवारी दरखास्त फाराम वितरण गरिने र २३ गते उम्मेदवारी दर्ताको सबै प्रक्रिया पूरा गरेर अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।