काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि संघको विधानअनुसार प्रबन्ध समिति गठन गरिएको छ। संघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशनबमोजिम विशेष साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी एक प्रेस नाेट जारफ गरी जनाएको हाे ।
संघद्वारा जारी प्रेस नोटअनुसार गत जेठ १९ गते पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूको सहभागितामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग महत्वपूर्ण छलफल भएको थियो। छलफलमा वैदेशिक रोजगार क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित सेवा शुल्क, मागपत्र प्रमाणीकरण, प्रक्रियागत सरलीकरण, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका विषयमा गम्भीर समीक्षा गरिएको जनाइएको छ।
संघले मन्त्री यादवबाट प्राप्त सकारात्मक धारणा र प्रतिबद्धताले वैदेशिक रोजगार क्षेत्रका जायज माग सम्बोधन हुने तथा क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन नीतिगत सुधार अघि बढ्ने विश्वास व्यक्त गरेको छ। साथै व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रका समस्या समाधानप्रति मन्त्रालयले देखाएको चासो र प्रतिबद्धताको स्वागत गरिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयको निर्देशन तथा संघको विधानअनुसार आगामी जेठ २४ गते विशेष साधारण सभासहित निर्वाचन सम्पन्न गर्ने कार्यक्रम तय गरिएको संघले जनाएको छ। निर्वाचनका लागि प्रतिनिधि संकलनको कार्य जारी रहेको बताइएको छ।
संघले वर्तमान विशेष परिस्थितिमा सबै व्यवसायीलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै संघलाई निकास, स्थायित्व र सक्षम नेतृत्व प्रदान गर्न सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ। प्रबन्ध समितिद्वारा जारी उक्त प्रेस नोटमा वैदेशिक रोजगार क्षेत्रका समसामयिक विषयवस्तुहरू सार्वजनिक गर्न सहयोग पुर्याउने सञ्चारकर्मी तथा पत्रकारहरूलाई धन्यवादसमेत व्यक्त गरिएको छ।