- उत्तर प्रदेशको कुशीनगर जिल्लाबाट उद्धार
- रोजगारीको प्रलोभन देखाएर शारीरिक र मानसिक यातना दिँदै नेटवर्किङ व्यवसायमा लगाइएको खुलासा
- भारतस्थित नेपाली दूतावासको सहयोगमा नेपाल ल्याइयो
काठमाडौं- रोजगारीको प्रलोभनमा भारतमा लगिएका ४५३ जना नेपालीलाई उत्तर प्रदेशको कुशीनगर जिल्लाबाट उद्धार गरिएको छ । सीमापारी रोजगारीको प्रलोभन देखाएर शारीरिक र मानसिक यातना दिँदै नेटवर्किङ व्यवसायमा लगाइएका उनीहरुलाई भारतस्थित नेपाली दूतावासको सहयोगमा नेपाल ल्याइएको हो ।
उद्धार गरिएका नेपालीहरु २० देखि ४० वर्ष उमेर समूहका भएको द इण्डियन एक्सप्रेसले जनाएको छ । श्रमिक भर्ती गर्ने भनिएको सञ्जाल तीन महिनादेखि कुशीनगरमा भाडामा लिएको भवनबाट सञ्चाालन हुँदै आएको भनिएको छ । पीडितहरूलाई फेसन डिजाइन, नेटवर्क मार्केटिङजस्ता क्षेत्रमा तालिम दिने र भारतमा धेरै तलब हुने रोजगार प्रदान गर्ने वाचा गरिएको बताइएको छ । पीडितहरुलाई नेपालबाट थप तीनदेखि पाँच जना बेरोजगार ल्याउन भन्ने गरिएकाले विभिन्न क्षेत्रमा रहेका साढे ४०० भन्दा बढी गिरोहको फन्दामा परेको उल्लेख गरिएको छ ।
समाचारका अनुसार उद्धार भएकामा ११५ जना महिला र ३३८ जना पुरुष छन् । गिरोहले पीडितलाई २५ हजार भारुसम्मको रोजगारी दिइने भनेर रजिस्टे«सन शुल्क, सीप विकास तालिमलगायतका शीर्षकमा सात हजारदेखि एक लाख रुपैयाँसम्म लिएको पाइएको छ । तर श्रमिकहरुले आफूलाई दिने भनिएको रोजगारी नपाएपछि र नेपाल फर्कने इच्छा व्यक्त गर्न थालेपछि विभिन्न बहाना बनाएर अवैधानिकरुपमा राखिएको बताएका छन् ।

केही पीडितले नेपालमा रहेका आफ्नो परिवारलाई आफ्नो समस्याको विषयमा जानकारी गराउने र सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि उनीहरुलाई लगाइएको कामको बारेमा उजागर भएको जनाइएको छ । उक्त सूचना नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेपछि कूटनीतिक हस्तक्षेप सुरु भएको उल्लेख गरिएको छ । त्यसपछि कुशीनगरमा रहेका पीडितहरुलाई उत्तर प्रदेश प्रहरी तथा सामाजिक संस्था किन इण्डियाको सहयोगमा ट्रेस गर्ने तथा उद्धार गर्ने अपरेसन सुरु गरेको थियो । प्रहरीले कुशीनगरको कस्यानगर भन्ने स्थानमा पीडितहरु बस्दै आएका भाडाको आवासमा उद्धार अपरेसन सञ्चालन गरेर श्रमिकलाई सुरक्षा प्रदान गरेको जनाइएको छ । पीडित नेपालीलाई आठवटा बसमा राखेर दूतावासको सहायतामा सुनौली सीमा नाका हुँदै शनिबार ल्याइएको छ ।
साथै, आइतबार प्रहरीले गिरोहका नौ जना संदिग्ध सदस्यविरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि ठगी र अन्य अपराधको आरोप लगाइएको छ । यस्तो कार्यमा नेपालीहरु नै संलग्न भएको भेटिएको छ । पक्राउ परेका नौ आरोपितमध्ये सात जना नेपाली छन् । गिरोहको सञ्जाल विशेषगरी नेपालीमात्र बुझ्ने गरिब नेपाली नागरिकलाई भर्ती गर्न केन्द्रित थियो । जसले उनीहरूलाई भ्रमित र नियन्त्रण गर्न सजिलो बनाएको द इण्डियन एक्सप्रेसले जनाएको छ ।
भारतमा साढे सात लाखभन्दा बढी नेपाली रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक छ । खुला सिमाना भएकै कारण मुलुकमा रोजगारी नपाएका र आर्थिक अवस्थाका कारण खाडीलगायतका मुलुक जान नसक्नेहरु भारतको रोजगारीमा निर्भर हुँदै आएका छन् । त्यहाँ पाँच लाख ५४ हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीमा संलग्न रहेको बताइन्छ । रोजगारी खोज्दै भारत जानेहरु बढीजसो सुदूरपश्चिम र त्यसपछि लुम्बिनी प्रदेशका छन् । अधिकांश नेपालीहरु मौसमी कामदारका रुपमा भारत जाने गरेको पाइन्छ । उनीहरु विशेषगरी अदक्ष श्रमिकका रुपमा घरेलु कामदार, सुरक्षा गार्ड, लेबर, हेल्परजस्ता काम गर्ने गर्छन् ।