काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (नाफिया) को नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान, व्यवसाय संरक्षण तथा नीतिगत सुधारका लागि सरकारसँग आग्रह गरेको छ।
कार्यसमितिले पदभार ग्रहण गरेपछि जारी गरेको अपिलमा वैदेशिक रोजगार क्षेत्र नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै लाखौं नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराउनुका साथै देशमा ठूलो परिमाणमा विप्रेषण (रेमिट्यान्स) भित्र्याउन योगदान पुर्याएको जनाएको हाे ।
संघले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा विभिन्न नीतिगत तथा प्रशासनिक जटिलताहरू सामना गर्नुपरेको उल्लेख गर्दै यस्ता समस्याको व्यावहारिक समाधान खोज्न सरकारसँग माग गरेको छ। मागपत्रमा मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति, नियमन प्रक्रिया तथा अन्य प्रशासनिक कार्यलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
संघले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। साथै, ठगी तथा अनियमितता नियन्त्रण गर्दै नैतिक र जिम्मेवार व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
नवनिर्वाचित नेतृत्वले वैदेशिक रोजगार व्यवसायी, सरकारी निकाय, कूटनीतिक नियोग तथा सरोकारवालाबीच समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताएको छ। यसबाट नेपाली श्रमिकहरूको हित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी प्रवर्द्धन तथा क्षेत्रको दीगो विकासमा टेवा पुग्ने विश्वास संघले व्यक्त गरेको छ।
संघका अनुसार सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्र वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरू समाधान गर्न सकिनेछ। नवनिर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा नीतिगत सुधार, व्यवसायीहरूको हकहित संरक्षण तथा श्रमिकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने जनाएको छ। संघका अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले वैदेशिक रोजगार क्षेत्रको गरिमा अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
