काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । यही जेठ २४ गतेका लागि तोकिएको निर्वाचनका लागि निर्वाचन समितिले शुक्रबार तालिका सार्वजनिक गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत टंकबहादुर राउतले विशेष अवस्था सिर्जना भए तालिकामा हेरफेर हुन सक्ने बताए । जेठ २४ गते विशेष साधारणसभापछि मतदान हुने तालिका सार्वजनिक गरिएको छ । सोही दिन मतगणना गरेर अन्तिम मतपरिणाम सार्वजनिक गरिने कार्यतालिकामा छ ।
उक्त चुनावका लागि जेठ २२ गते बिहान मतदाता नामावली प्रकाशन हुने, सोही दिन नामावलीउपर दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने भनिएको छ । उम्मेदवारी दर्ता, पहिलो नामावली प्रकाशन, उम्मेदवारउपर दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने तथा उजुरी उपर छानबिन गरी निर्णय गर्न जेठ २३ गतेको समय तोकिएको छ । साथै, अन्तिम नामावली पनि सोही दिन प्रकाशन गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार संघलाई पठाएको पत्रमा बहुमत पदाधिकारीले राजीनामा दिइसकेका कारण विधान र प्रचलित कानुनबमोजिम काम कारबाही गर्न भनेसँगै चुनावको बाटो खुलेको हो । संघको विधानमा कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सल्लाहकारहरुको रोहवरमा बनेको प्रबन्ध समितिले निर्वाचन सम्पन्न गराउने प्रावधान छ ।