काठमाडौं- इजरायलमा केयर गिभर (सहायक कामदार)को आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागले २ हजार ३ सय जनाका लागि इजरायलमा केयर गिभर नेपाली श्रमिकको माग आएको हो ।
यसैबिच नेपालस्थित इजरायली दूतावसले २०२४को भर्ना प्रक्रियामा योग्य भएर पनि गोलाप्रथामा नपरेकालाई यसपटक आवेदन दिन अनुरोध गरेको छ । गत साता सबै प्रक्रिया पुरा गरेर पनि गोलाप्रथामा छनोट नभएकाहरु आन्दोलनमा उत्रिएका थिए । अघिल्लो पटक चिठ्ठा नपरेकाहरु साढे ११ सयभन्दा बढी छन् । त्यतिबेला रोजगारीको अवसर नपाएकालाई पुनः रोजगारी दिने कुनै निर्णय नभएकाले दोहो¥याएर प्रक्रिया सुरु गर्न दूतावासको आग्रह छ ।
नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिकको आवेदन खुलाइएको विभागले जनाएको छ । विभागको सूचनाका अनुसार इजरायलले ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कामदारका लागि कोटा छुट्याएको छ ।
‘कामदारको करार अवधि एक वर्षको हुने र आवश्यकताअनुसार थप गर्न सकिनेछ,’ सूचनामा भनिएको छ । २५ वर्ष पुरा भइ ४५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिनसक्ने छन् । आवेदन दिने व्यक्तिको कम्तीमा १.५ मिटर उचाइ, ४५ किलोग्राम तौल, र सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्नेछ ।
विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध आवेदन फाराम अनलाइनमार्फत भर्न सकिने विभागले जनाएको छ । आवेदन दिने अन्तिम समय असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ । आवेदन दिएकाहरुको छनोट प्रक्रिया गोलाप्रथाबाट हुने सूचनामा भनिएको छ । प्रारम्भिक छनोटमा परेका उम्मेद्वारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगार प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ ।
इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्क आदिमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै इजरायल जान पाइनेछ ।
छनोट भएका कामदारले इजरायलमा मासिक छ हजार चार सय ४३.८५ इजरायली सेकेल अर्थात झण्डै साढे तीन लाख नेपाली रुपैयाँ बराबर तलब पाउनेछन् । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि पाइने छ ।