पत्रमा स्पष्ट छ कि संघलाई अझ प्रभावकारी बन, निर्वाचित कार्यसमितिलाई मान्यता दिएर अगाडि बढाउ, पुरै कार्यकाल चलाउ भनेको छ । अहिले कथित प्रबन्ध समितिले निर्वाचन माग्दैमा जिल्ला प्रशासन कार्यालयले मान्यता दिएको अवस्था छैन । यो चुनाव किमार्थ हुँदैन ।
रामकुमार गैरे, उपाध्यक्ष
वैदेशिक रोजगार व्यवसायी एसोसिएसन
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको तयारी सुरु भएको छ । बिहीबार व्यवसायी टंकबहादुर राउतको संयोजकत्वमा निर्वाचन समिति गठन भएसँगै जेठ २४ गतेका लागि तय भएको संघको निर्वाचनको तयारी शुरु भएको हो ।
प्रशासनले प्रबन्ध समितिलाई मान्यता दिनु नै अहिलेको कार्यसमिति विघटन भएको हो भन्नु हो । चित्त नबुझेको अवस्थामा उहाँहरु सिडिओ कार्यालय वा त्योभन्दा माथिल्लो निकायमा जान सक्नुहुन्छ । माथिल्लो निकायले आदेश दिएको अवस्थामा हामी चुप लाग्छौँ ।
राजेन्द्र भण्डारी, संयोजक
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रबन्ध समिति
समितिमा राउत प्रमुख निर्वाचन अधिकृत, भवानीप्रसाद निरौला निर्वाचन अधिकृत र संघका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौला सदस्य सचिव तोकिएको छन् । समितिले प्रकाशन गर्ने कार्यतालिका बमोजिम आवश्यक कार्य अगाडि बढाउन प्रबन्ध समितिले व्यवसायीलाई आह्वान गरेको छ । निर्वाचन समितिले सदस्यता लिने, नवीकरण गर्ने, प्रतिनिधि पठाउने लगायतका कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।
लगत्तै हुने विशेष साधारणसभाले आगामी कार्यकालको लागि कार्यसमिति चयन गर्नेछ । उक्त निर्वाचनका लागि संघका घटक संस्थाहरु प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तयार भएका छन् । प्रगतिशील मञ्चका अध्यक्ष जनक रावल र गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी निर्वाचन गराउन बनेको प्रबन्ध समितिको सल्लाहकार समेत छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा भने निर्वाचनको विषयमा मतभेद छ । एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरी लगायतले विगतदेखि नै निर्वाचनको माग राखिरहँदा अध्यक्ष दिपक थापा, उपाध्यक्ष रामकुमार गैरेलगायतको टोली अध्यक्ष गुरुङलाई कार्यकाल पुरा गर्न दिनुपर्ने पक्षमा उभिँदै आएको छ । जिल्ला प्रशासनको पत्रमा चुनाव गराउ भन्ने किसिमको आशय नरहेको उनीहरुको दाबी छ ।
प्रशासनले हालको कार्यसमितिलाई सम्हालेर अघि बढ भन्ने आशय व्यक्त गरेको एसोसिएसनका उपाध्यक्ष गैरेले बताउँछन् । ‘पत्रमा स्पष्ट छ कि संघलाई अझ प्रभावकारी बन, निर्वाचित कार्यसमितिलाई मान्यता दिएर अगाडि बढाउ, पुरै कार्यकाल चलाउ भनेको छ,’ गैरेले भने, ‘अहिले कथित प्रबन्ध समितिले निर्वाचन माग्दैमा जिल्ला प्रशासन कार्यालयले मान्यता दिएको अवस्था छैन । यो चुनाव किमार्थ हुँदैन ।’
आफूहरु लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भएकाले विषम परिस्थिति पनि चुनावमा सहभागी हँुदै आए पनि प्रशासनको पत्रमा चुनाव हुने विषय कतै उल्लेख नभएको गैरेको दाबी छ । आफूहरु जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार अघि बढेकाले उक्त निर्णय चित्त नबुझे अन्य निकायमा जान पाउने अधिकार असन्तुष्ट पक्षसँग भएको प्रबन्ध समितिका संयोजक तथा संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् ।
‘प्रशासनले प्रबन्ध समितिलाई मान्यता दिनु नै अहिलेको कार्यसमिति विघटन भएको हो भन्नु हो,’ उनले भने, ‘चित्त नबुझेको अवस्थामा उहाँहरु सिडिओ कार्यालय वा त्योभन्दा माथिल्लो निकायमा जान सक्नुहुन्छ । माथिल्लो निकायले आदेश दिएको अवस्थामा हामी चुप लाग्छौँ ।’
वर्तमान कार्यसमिति आफूहरुले नभइ विधान बमोजिम विघटन भएकाले निर्वाचनमा सहभागी हुन पाउने अधिकारको प्रयोग गर्न भण्डारीको सुझाव छ । ‘फ्रेस म्यान्डेट’ लिएर संघको नेतृत्व गर्ने बाटो खुला रहेको उनले बताए । ‘उहाँहरुको कार्यसमिति हामीले विघटन गरिदिएको होइन । उहाँहरुभित्रकै कार्यसमितिका दुई तिहाइ पदाधिकारीले विधानअनुसार राजिनामा दिएर विघटन भएकाले विधानसम्मत निर्वाचनको प्रक्रिया अघि बढाइएको हो,’ भण्डारीले भने, ‘चुनावमा उहाँहरु पनि भाग लिन सक्नुहुन्छ । निर्वाचित हुनुभयो भने उहाँहरुकै नेतृत्वमा संघ अगाडि बढ्छ ।’
शुक्रवार निर्वाचन तालिका सार्वजनिक हुने प्रबन्ध समितिका संयोजक भण्डारीले बताए । चुनाव बिथोल्ने गतिविधि भए जिल्ला प्रशासनले त्यही अनुसारको सुरक्षा दिने उनको भनाइ छ । प्रशासनले बुधबार संघलाई पठाएको पत्रमा बहुमत पदाधिकारीले राजीनामा दिइसकेका कारण विधान र प्रचलित कानुनबमोजिम काम कारबाही गर्न भनेको छ ।
विधानको दफा २६ (४) (ख) मा ‘कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने छ र सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्यीय प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने छ’ भन्ने उल्लेख छ । अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ मा कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए ।