काठमाडाैं - सर्लाहीको बरहथवा नगरपालिका–१२ लौकट टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार अपरिचित व्यक्ति भरुवा बन्दुक बोकी हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लौकट टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हाे ।
मंगलबार बिहान करिब २ बजे अपरिचित व्यक्ति भरुवा बन्दुक बोकी हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा ३-४ जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । सो क्रममा एक जनालाई नियन्त्रणमा लिन प्रहरीले सफलता पाएको हो । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-२ सुकुमवासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान छन् ।
प्रहरीले घलानको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, कालो रंगको धुलो पदार्थ १ सय ७५ ग्राम, साइकलमा प्रयोग हुने फलामको बल ८० थान तथा फलामको रडका टुक्रा ५ थान बरामद गरेको जनाएको छ ।
बरामद सामग्री स्थानीयको रोहवरमा मुचुल्का उठाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका घलानमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।