काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन्।
७१औं प्रहरी दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप मजबुत बनाउने तथा भावी पुस्ताका लागि सक्षम, स्वस्थ, उत्तरदायी र प्रविधिमैत्री संगठन निर्माण गर्ने संकल्प गरे।
उनले नेपाल प्रहरीको सात दशकभन्दा लामो यात्रामा संगठनका एक हजार ७९८ जना वीर प्रहरी कर्मचारीले राष्ट्र र नागरिक सुरक्षाका खातिर जीवनको आहुति दिएको जानकारी दिए।
राष्ट्र र नागरिकको सेवाका क्रममा जीवन उत्सर्ग गर्ने ती सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै महानिरीक्षक कार्कीले अमर प्रहरी परिवारजन एवं सन्ततिप्रति उच्च सम्मानभाव व्यक्त गरे।
उनले कर्तव्यपालनको सिलसिलामा घाइते तथा अशक्त हुनुभएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरे। अमर प्रहरीको समर्पण र बलिदानलाई प्रहरी संगठन र सकल दर्जाले सदैव गौरवका साथ स्मरण गरिरहने उनको भनाइ थियो।
उनले भने, “नेपाल प्रहरी संगठनको श्रीवृद्धिका लागि राष्ट्रसेवामा आफ्नो जीवनको सर्वाधिक ऊर्जाशील समय समर्पित गर्नु भई सेवानिवृत्त हुनुभएका सम्पूर्ण अग्रज प्रहरी कर्मचारीमा यहाँहरूको अथक परिश्रम, योगदानको उच्च कदर तथा स्मरण गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”
महानिरीक्षक कार्कीले भोटेकोशी–त्रिशूलीको महाविपत्ति नेपाल प्रहरीको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय बनेर अंकित भएको उल्लेख गरे। उनले भने, “विनाशकारी बाढी, जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा पुल, सञ्चार अवरोध र निरन्तर बदलिँदो मौसम तथा जलवायु परिवर्तनका बीच नेपाल प्रहरी अन्य सुरक्षा निकायसँगै खोज, उद्धार, सुरक्षा, व्यवस्थापन, सूचना संकलन र मानवीय सहायतको अग्रपंक्तिमा निरन्तर खटिन्छन्।”
महानिरीक्षक कार्कीले विपद्को सबैभन्दा पीडादायी पक्ष कर्तव्यपालनमै आफ्नै सहकर्मीको क्षति भोगेको भोटेकोशी–त्रिशूली बाढीमा कर्मठ २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित भएकामा तीन जनाले अमरत्व प्राप्त गरे भने २५ जना प्रहरी कर्मचारी बेपत्ता भएको जानकारी दिए।
उनीहरू नागरिकको जीवन र सुरक्षाका लागि अग्रपंक्तिमा खटिरहेका अवस्थामा विपद्को चपेटामा परेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले सकल दर्जाबाट साहस, अनुशासन, मुलुक र नागरिक सेवाप्रतिको अटल प्रतिबद्धता प्रदर्शन भएको स्मरण गरे।
उनका अनुसार गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयमध्ये ४५३ प्रहरी कार्यालयको पुनर्निर्माण एवं कार्यालय सञ्चालन भइसकेका छन् भने अन्य पुनर्निर्माणाधीन छन्। उनले त्यसमा आमनागरिक, स्थानीय तह, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था, पूर्वप्रहरी कर्मचारी तथा सम्पूर्ण सहयोगीले देखाउनुभएका ऐक्यबद्धताप्रति संगठनका तर्फबाट कृतज्ञता व्यक्त गरे।
उनले बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै विकसित हुँदै गरेका सुरक्षा चुनौतीको सामना गर्न प्रहरीलाई सक्षम, व्यावसायिक र नवीनतम प्रविधिले सुसज्जित तुल्याइनुपर्नेमा जोड दिए।
महानिरीक्षक कार्कीले वर्तमान समयको पदचापलाई बुझ्दै प्रहरीले विभिन्न वित्तीय ठगी सम्बन्धमा अनलाइन उजुरी, नागरिक गुनासो, प्रहरी चारित्रिक प्रमाणपत्र, ट्राफिक उल्लंघन तथा हराएका सवारीसाधन र कागजात, प्रहरी भर्ना तथा तालिम, अपराध अभिलेख, दैनिक घटना प्रतिवेदनलगायत विभिन्न अभिलेख प्रणालीको विकास तथा स्तरोन्नति गरिने प्रतिबद्धता जनाउनुभयो। उनले प्रहरी सेवालाई थप प्रविधिमैत्री, प्रभावकारी र समयानुकूल बनाउने कार्य अगाडि बढाइएको स्पष्ट पारे।
उनले चेन अफ कमाण्डमा आधारित अनुशासन, संगठनमा प्रभावकारी कार्यसम्पादन, अनुशासन र संस्थागत प्रगतिका लागि स्थापित आदेश तथा नियन्त्रण प्रणाली र कमाण्ड शृंखला कायम रहनु अपरिहार्य रहेको उल्लेख गरे।