काठमाडौं- जापानले रेस्टुरेन्ट क्षेत्रमा कार्यरत कामदारको भिसामा रोक लगाएसँगै कर्मचारी अभाव हुने देखिएको छ । ग्रीष्मकालीन पर्यटक सिजन नजिकिँदै गर्दा विगतमै श्रमिकको अभाव झेलिरहेको ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुनसक्ने अनुमान गरिएको छ ।
जापानको आप्रवासन सेवा एजेन्सीले गत अप्रिल १३ मा फुड सर्भिससम्बन्धी स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लू) कार्यक्रमको टाइप वान् भिसाको आवेदनहरुमा रोक लगाएको थियो । उक्त क्षेत्रमा पाँच वर्षे भर्ती कोटा लगभग भरिएकाले नयाँ आवेदन स्वीकृत नगरिने जनाइएको छ । एजेन्सीका अनुसार करिब ४६ हजार विदेशी कामदार फेब्रुअरीको अन्त्यसम्म उक्त क्षेत्रमा जापान पुगिसकेका छन् । सो क्षेत्रका लागि २०२९ को मार्चसम्म अधिकतम ५० हजारको सीमा निर्धारण गरिएको छ ।
जापानले सन् २०१९ मा पर्याप्त घरेलु कामदार नपाइने क्षेत्रमा विदेशी कामदार ल्याउनका लागि एसएसडब्लू कार्यक्रम सुरु गरेको थियो । मुलुकमा घट्दो जनशक्ति र ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिका कारण अन्य मुलुकबाट जनशक्ति लग्न थालिएको हो । आवेदन दिनेहरुले जापानी भाषा परीक्षा तथा सीप मूल्यांकन गर्नुपर्छ ।
विदेशी श्रमिकमा निर्भर अन्य क्षेत्रहरुसँग तुलना गर्दा खाद्य सेवा क्षेत्रका ५० हजार कोटा निकै सानो भएको द जापान न्युजले जनाएको छ । आप्रवासन सेवा एजेन्सीको तथ्यांकअनुसार कोरोना महामारीपछिको अन्तर्राष्ट्रिय पर्यटन पुनरुत्थानसँगै २०२३ को अन्त्यदेखि जापानको खाद्य सेवा क्षेत्रमा विदेशी कामदारको संख्या तीन गुनाभन्दा धेरै बढेको छ । कोटाको प्रक्षेपण महामारीको समयमा गरिएकाले बजारको मागलाई सम्बोधन नगर्ने समाचारमा भनिएको छ ।
भिसा स्थगन हुँदा विगतदेखि नै श्रम अभाव झेलिरहेको क्षेत्रलाई प्र्रभावित पार्ने जनाइएको छ । यसले जापानको आप्रवासन प्रणालीको कमजोरीलाई उजागर गरेको समाचारमा भनिएको छ । हालको आप्रवासन प्रणाली श्रमबजारको मागभन्दा निश्चित पूर्वानुमानमा भर परेको उल्लेख गरिएको छ । हाल उद्योगीहरुले सरकारलाई कोटा विस्तार गर्न ध्यानाकर्षण गरिरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
एसएसडब्लू भिसा रोकिँदा घरेलु बजारका साथै स्रोत मुलुकमा पनि प्रभाव परेको छ । यस कार्यक्रममा जाँदा श्रमिकहरुले जापान र आफ्नो मुलुक दुवै स्थानमा सीप र भाषा परीक्षण उत्तीर्ण गर्न आवश्यक पार्छ । परीक्षा उत्तीर्ण गरेर भर्ना प्रक्रियामा रहेका तथा सीप सिकिरहेका कामदारहरुले अनिश्चितता सामना गर्नुपरेको छ । पछिल्लो समय सीप सिकेर जापान जानेहरुको संख्या बढेको छ । आ.व. २०८०/८१ मा १३ हजार ८६४ र २०८१/८२ मा २३ हजार ७१ जना नेपाली जापान गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।