काठमाडौं - इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा कामदारका रूपमा जान आवेदन दिएर गोलाप्रथा (लट्री) मा नपरेका उम्मेदवारहरूले अब नयाँ विज्ञापन कुर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै इजरायली निकाय ‘पीबा’ ले ‘लट्री आउट’ भएका उम्मेदवारलाई हालको प्रक्रियामार्फत सिधै सहभागी गराउन नसकिने जानकारी दिएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल उनीहरूको प्रक्रिया अघि बढाउन नसकिने तर आगामी विज्ञापन खुल्दा पुनःआवेदन दिन सकिने उल्लेख गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ असार ११ गते प्रकाशित गरेको विज्ञापनअनुसार २ हजार १ सय १२ जना श्रमिक लक्की ड्रमार्फत छनोट भएका थिए । तीमध्ये अधिकांश इजरायल पुगिसकेका छन् भने बाँकीको प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
तर, लक्की ड्रमार्फत छनोट हुन नसकेका १ सय ५३ जना उम्मेदवारले आफूहरूलाई पनि इजरायल पठाउनुपर्ने माग गर्दै आएका छन् । उनीहरूले वैदेशिक रोजगार विभाग घेराउ गर्नुका साथै माइतीघरमा धर्ना समेत दिएका थिए ।उनीहरूको मागअनुसार श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत इजरायल सरकारसँग अनुरोध गरेको भए पनि इजरायलले हालको प्रक्रियाअनुसार थप उम्मेदवार लैजान नसकिने स्पष्ट जवाफ दिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता घिमिरेका अनुसार इजरायलले लट्री आउट भएका उम्मेदवारलाई आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमार्फत पुनः प्रक्रिया पूरा गरेर सहभागी हुन आग्रह गरेको छ । मन्त्रालयले पनि नयाँ विज्ञापन छिट्टै खुल्ने जानकारी दिँदै योग्य उम्मेदवारलाई त्यसमा सहभागी हुन अनुरोध गरेको छ ।यस्तै, दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका उम्मेदवारहरूको मागबारे पनि मन्त्रालयले धारणा सार्वजनिक गरेको छ ।
मन्त्रालयले रोष्टरको समयावधि थप गर्न तथा अन्य प्राविधिक विषयमा कोरिया सरकारसँग अनुरोध गरिसकेको जनाएको छ ।नेपाल र दक्षिण कोरियाबीच भएको द्विपक्षीय श्रम समझदारी तथा ईपीएस प्रणालीको निश्चित प्रक्रियाअनुसार नै काम हुने भएकाले यस विषयमा अनावश्यक दबाब नदिन मन्त्रालयले आग्रह गरेको छ । साथै, सम्पूर्ण उम्मेदवार र सरोकारवालालाई विद्यमान प्रणाली र तथ्यगत यथार्थ बुझेर सहयोग र समझदारी कायम गर्न अनुरोध गरिएको छ ।