काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा साढे छ लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८३ वैशाख महिनाको अवधिमा छ लाख ६१ हजार ७६१ जना रोजगारीका लागि विदेसिएका छन् । यो संख्या संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएर गएकाहरुका साथै श्रम स्वीकृति नवीकरण (पुनः श्रम स्वीकृति) गरेर जानेहरुको हो ।
पछिल्लो महिना वैशाखमामात्र जम्मा ७४ हजार ४२९ जना रोजगारीमा गएको तथ्यांक छ । जसमा ६५ हजार १० जना पुरुष र नौ हजार ४१९ जना महिला रहेका छन् । वैशाखमा पहिलोपटक श्रम स्वीकृति लिएर जानेको संख्या ४१ हजार ३२४ जना रहेको छ । जसमा ३४ हजार ९७२ जना पुरुष र छ हजार ३५२ जना महिला छन् ।
विभागका अनुसार इजाजतप्राप्त संस्थामार्फत २३ हजार ४५३ जना पुरुष र दुई हजार ९८० जना महिला गरी कूल २६ हजार ४३३ जना गएका छन् । त्यसैगरी, व्यक्तिगत श्रम स्वीकृति लिएर १४ हजार १३२ जना रोजगारीमा गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिकहरुमध्ये १० हजार ८६९ जना पुरुष र तीन हजार २५३ जना महिला छन् । वैशाखमा विभागबाट पुनः श्रम स्वीकृति लिएर ३३ हजार १०५ जना विभिन्न मुलुकमा गएको तथ्यांक छ । जसमा ३० हजार ३८ जना पुरुष र तीन हजार ६७ जना महिला छन् । उक्त महिनामा जिटुजीमार्फत ६२३ जना गएका छन् । जसमध्ये ५५४ जना दक्षिण कोरिया र ६९ जना इजरायल गएको तथ्यांक छ ।

वैशाखमा सबैभन्दा धेरै श्रमिक मलेसिया गएका छन् । उक्त महिनामा १६ हजार ६२८ जना पुरुष र ६२४ जना महिला गरी १७ हजार २५२ जना मलेसिया गएका छन् । त्यसपछि, १७ हजार १०८ जना श्रमिक संयुक्त अरब इमिरेट्स (युएई) गएको तथ्यांक छ । युएईमा १४ हजार ९५ पुरुष र तीन हजार १३ जना महिला गएका छन् । त्यसैगरी कतारमा १० हजार ६६७, साउदीमा आठ हजार ६६४ र कुवेतमा तीन हजार २७९ जना गएको पाइएको छ । यस अवधिमा ४४ हजार ७० जना श्रमिक सीपयुक्त भएर विदेसिदा १८ हजार ४४० जना कुनै सीप नसिकी गएका छन् । त्यस्तै, ११ हजार ८६ जना अर्धदक्ष, ३४२ जना व्यावसायिक र ९१ जना उच्च दक्ष श्रमिक विदेसिएका छन् ।