- चरम गर्मीको समयमा बाहिरी काम रोक्न कोरियाको श्रम मन्त्रालयको सिफारिस
काठमाडौं- मौसमविद्हरुले असामान्य गर्मीको चेतावनी दिएसँगै दक्षिण कोरियाका आउटडोर (बाहिर काम गर्ने) श्रमिकहरु जोखिममा पर्ने जनाइएको छ । विशेषगरी निर्माण तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरु उच्च तापक्रमकै कारण स्वास्थ्य समस्या र मृत्युसम्मको जोखिमा पर्ने खतरा औंल्याइएको छ ।
मौसमविद्हरुको यस वर्षको गर्मी विगतको जस्तै या त्यो भन्दा पनि खराब हुने प्रक्षेपण गरेको द कोरिया टाइम्सले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्ला वर्षहरूमा तातो बढ्दै गएसँगै यससँग सम्बन्धित रोगका बिरामीहरुको संख्यामा ठूलो वृद्धि भएको छ । अघिल्लो वर्ष उच्च तापका कारण बिरामी हुनेको संख्या चार हजार ४६० पुगेको थियो । जबकि, सन् २०११ मा तापक्रमसँग सम्बन्धित स्वास्थ्य समस्या ४४३ जनामामात्र रेकर्ड गरिएको तथ्यांक छ । २०११ को तुलनामा २०२५ मा बिरामीको संख्या करिब १० गुणा बढेको पाइएको छ । सन् २०१८ मा सबैभन्दा धेरै चार हजार ५२६ बिरामी भएको उल्लेख छ ।
गत वर्ष रेकर्ड गरिएको बिरामीको संख्यामध्ये सबैभन्दा बढी ३२.१ प्रतिशत अर्थात् एक हजार ४१३ जना बिरामी बाहिर काम गर्नेहरु रहेका जनाइएको छ । त्यस्तै, खेत र धानबालीमा काम गर्नेहरु ५४२ तथा सडक छेउमा काम गर्ने ५२२ जना बिरामी भेटिएको सरकारी तथ्यांक छ ।
अघिल्लो वर्ष पनि कोरियामा विभिन्न मुलुकका श्रमिकहरुले उच्च तापक्रममा काम गर्ने क्रममा ज्यान गुमाएका थिए । सन् २०१० को दशकमा वार्षिक करिब १० जना कामदारको मृत्यु हुने गरेको थियो भने २०२० को दशकमा वार्षिक करिब ३० जना पुगेको समाचारमा उल्लेख गरिएको छ । उच्च तापक्रमसँग सम्बन्धित रोगबाट मृत्यु हुनेमध्ये ७९.३ प्रतिशत कामदार प्रभावित हुँदा बाहिरै रहेको पाइएको छ ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले चरम गर्मीको चेतावनी जारी गरिएको समयमा सबै बाहिरी काम रोक्न गत साता सिफारिस गरेको समाचारमा उल्लेख छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)ले पनि गत शुक्रबारदेखि तापसम्बन्धी कारणले उपचार गराइरहेका बिरामीहरुको निगरानी सुरु गरेको बुझिएको छ । यसले बिरामीहरुको अवस्था ट्र्याक गरेर स्वास्थ्य जोखिम कम गर्न सघाउने केसिडिएको भनाइ छ । यो निगरानी सेप्टेम्बर ३० सम्म जारी रहने बताइएको छ ।
उच्च तापक्रमको सम्पर्कका कारण हिट स्ट्रोक, हिट एक्जहस्टसन, हिट क्र्याम्पजस्ता समस्याहरु देखा पर्छन् । चिकित्सकहरुले शरीरको बढी प्रयोग हुने भागमा अचानक दुखेमा, टाउको दुखाइ, टाउको घुम्ने, वान्ता, थकानजस्ता लक्षणहरु तापसम्बन्धी समस्याको संकेत हुनसक्ने बताउँदै आएका छन् । यसबीच, केडिसिएले पनि उच्च तापक्रम भएको दिनमा बाहिर नहिँड्न, घाम प्रत्यक्ष नपरोस् भनेर छाता वा टोपीको प्रयोग गर्न, पर्याप्त विश्राम तथा तरल पदार्थको सेवन गर्न सुझाव दिएको छ ।
उच्च तापक्रमको जोखिमलाई नियन्त्रण गर्न रोजगारदाताले सरकारले ग्यारेण्टी गरेको ‘विश्राम ब्रेक’ जस्ता व्यवस्थाको सुनिश्चित गर्नुपर्ने माग श्रमअधिकारकर्मीहरुले राख्दै आएका छन् । कोरिया नेपालीहरुको आकर्षक रोजगार गन्तव्य हो । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत बर्सेनि हजारौं युवाहरु कोरिया जाँदै आएका छन् । उनीहरु उत्पादनमूलक क्षेत्रका साथै कृषि तथा पशुपालन, कन्स्ट्रक्सन, पानीजहाज बनाउने तथा सेवा क्षेत्रमा जाँदै आएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार २२२ जना तथा २०८१/८२ मा एक हजार ७२१ नेपाली श्रमिक इपिएसमार्फत कोरिया गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।