परिस्थिति प्रतिकूल भएको कारणले एकजुट भएरै व्यवसायीका समस्या समाधान गर्नुपर्ने अवस्था बनेको छ । अध्यक्षले आफ्नो कार्यशैलीचाहिँ सुधार्नप¥यो । त्यसका लागि फेरि उहाँसँग बसेर छलफल गर्छौं ।
वैकुण्ठ पौडेल
तृतीय उपाध्यक्ष
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विवाद समाधानउन्मुख देखिएको छ । असन्तुष्ट पक्षले आफ्ना सर्तहरु पूरा भएको अवस्थामा एकढिक्का भएर अघि बढ्ने जनाएको छ ।
हाल सरकारले विभिन्न नीतिहरुमा परिमार्जन गर्दै व्यवसायीलाई अप्ठ्यारो पार्दै लगेको अवस्थामा एकढिक्का भएर अघि बढ्न तयार रहेको संघका तृतीय उपाध्यक्षबाट राजीनामा दिएका वैकुण्ठ पौडेलले बताए । यद्यपि, संघका अध्यक्ष भुवनसिंह गुरुङले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।
सबै जनाले घर फर्कन्छौं भन्नुभएको छ । अस्ति नबुझेर झगडा परिहाल्यो अब कसरी एकैचोटि फर्किहाल्ने भनेर होला । अब समय, साइत मिलेपछि उहाँहरु आइहाल्नुहुन्छ ।
देवकुमार खोखाली
द्वितीय उपाध्यक्ष
‘परिस्थिति प्रतिकूल भएको कारणले एकजुट भएरै व्यवसायीका समस्या समाधान गर्नुपर्ने अवस्था बनेको छ,’ पौडेलले भने, ‘अध्यक्षले आफ्नो कार्यशैलीचाहिँ सुधार्नप¥यो । त्यसका लागि फेरि उहाँसँग बसेर छलफल गर्छौं । व्यवसायीको समस्या जटिल भएकाले एकजुट भएर तालुकदार निकायसँग पहलकमी गर्न तयार छौं ।’
हालैमात्र सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै ‘फ्रि-भिसा’को मागपत्र तथा अन्य अवस्थामा तोकिएभन्दा बढी रकम लिएको पाए जरिवाना लिनेदेखि कम्पनी खारेज गर्नेसम्मको प्रावधान राखेको छ । सेवा शुल्कको निर्धारण नगरी यस्ता निर्णय गरे व्यवसाय धराशायी हुने गुनासो व्यवसायीहरुले गर्दै आएका छन् । नीतिगत अप्ठ्याराहरु थपिँदै गएको अवस्थामा यस क्षेत्रलाई बचाउन पनि मिल्नुको विकल्प नभएको भन्ने पक्षमा संघबाट राजीनामा दिएकाहरु देखिन थालेका छन् ।
असन्तुष्ट पक्षसँग संवादको क्रममा सबैजना फर्किन तयार रहेको संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीले बताए । समय परिस्थिति मिल्नासाथ सबैजना फर्किने देखिएको उनको भनाइ छ । ‘जे-जे हुने भयो अब घर फर्कौं भन्ने अभियानमा सबै जनाले घर फर्कन्छौं भन्नुभएको छ,’ उनले भने, ‘अस्ति नबुझेर झगडा परिहाल्यो अब कसरी एकैचोटि फर्किहाल्ने भनेर होला । अब समय, साइत मिलेपछि उहाँहरु आइहाल्नुहुन्छ ।’
केहीले भने आज भोलिमै विवाद समाधान हुने नदेखिएको र अझै १०-१५ दिन लाग्ने बताएका छन् । संघका अध्यक्ष गुरुङको गतिविधि व्यक्तिकेन्द्रित भएकाले अपेक्षित काम गर्न नसकिएको भन्दै संघका सात पदाधिकारीमध्ये पाँच जना र १० सदस्यमध्ये छ जनाले हस्ताक्षर गरी सामूहिक राजीनामा बुझाएका थिए । गत वैशाख १४ गते राजीनामा बुझाउँदै नयाँ नेतृत्व चयन गर्नुपर्ने उनीहरुको माग थियो ।
संघको २१ सदस्यीय कार्यसमितिमा ११ जनाले राजीनामा बुझाएपछि अध्यक्ष गुरुङ समस्यामा परेका थिए । यद्यपि, राजीनामा बुझाएको भोलिपल्टै सदस्यहरु हिमा गुरुङ र कृष्ण ढकाल संस्थापनपक्षमा फर्किएपछि गुरुङको पक्षमा बहुमत बनेको थियो । हाल असन्तुष्ट पक्षमा नौ जना र संस्थापन पक्षमा १२ जना देखिएका छन् । संघका पूर्वअध्यक्ष, सल्लाहकारलगायतसँगको छलफलपछि अध्यक्ष गुरुङले आत्मालोचना गर्दै राजीनामा दिएकाहरुलाई आफ्नो जिम्मेवारीमा फर्कन वैशाख १७ गते पत्राचार गरेका थिए । यद्यपि, उनले उक्त पत्रमा व्यक्त गरेको भाषाको शैलीले जिम्मेवारीमा फर्किंदा अप्ठ्यारोमा परिने हो कि भन्ने द्विविधामा असन्तुष्ट पक्ष देखिएको छ । अध्यक्ष गुरुङले असन्तुष्ट पक्षलाई पठाएको पत्रमा आफूलाई अनावश्यक आरोप लगाएकाले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संघमा फर्किन आग्रह गरिएका थिए ।