काठमाडौं - नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुका साथबाट चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने नियन्त्रित लागूऔषध नोर्फिन, फेनारगन, स्पास्पेन, ट्रामाडोल, आइपिपिएल र डाइजेपाम तथा लागुऔषध खैरो हेरोइन र गाँजा बरामद भएको छ ।
फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् । जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।