- स्क्यामिङ केन्द्रहरु बन्द गर्ने र त्यसमा संलग्नलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिँदै कम्बोडिया सरकार
- आफूलाई कम्बोडिया पु¥याउने व्यक्तिविरुद्ध नेपाल फर्किसकेपछि या कम्बोडियाबाटै पनि उजुरी गर्न थाइल्याण्डस्थित नेपाली दूतावासको आग्रह
काठमाडौं- कम्बोडियाको अवैध स्क्यामिङ केन्द्रहरुमा संलग्न व्यक्तिलाई पाँच लाख अमेरिकी डलरसम्मको जरिवाना सजाय हुने भएको छ । कम्बोडियाले गत साताबाट लागू हुनेगरी कसुरको प्रकृति हेरेर पाँच लाख डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुनसक्ने गरी नयाँ कानुन ल्याएको छ ।
कम्बोडिया सरकारले यस्ता स्क्यामिङ केन्द्रहरुलाई बन्द गर्ने, नष्ट गर्ने तथा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई समेत तीव्र पारेको थाइल्याण्डस्थित नेपाली दूतावासले सोमबार जनाएको छ । यस्ता गतिविधिलाई निस्तेज पार्न दूतावासले आफूलाई कम्बोडिया पु¥याउने व्यक्तिविरुद्ध नेपाल फर्किसकेपछि या कम्बोडियाबाटै पनि उजुरी गर्न आह्वान गरेको छ ।
दूतावासले आफ्नो भिसा अवधि सकिएपछि स्वदेश फर्किन, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा संलग्न भए तुरुन्त त्यस्तो काम बन्द गरेर नेपाल फर्किनसमेत भनेको छ । वैदेशिक रोजगारीमा जानुअघि नेपालस्थित वैदेशक रोजगार विभाग तथा सम्बन्धित मुलुकको नेपाली दूतावास तथा महावाणिज्यदूतावाससँग सम्पर्क गरेर रोजगारीको आधिकारिकता यकीन गरेरमात्र जान आग्रह गरेको छ ।
हाल कम्बोडियामा रहेका नेपालीहरुको विवरण संकलन गरेर नेपाल फर्कन सहजीकरण गर्ने काम भइरहेको छ । यसका लागि पीडित व्यक्तिले अनलाइन फाराम भर्नुपर्ने छ । आफ्नो परिवारको सदस्य तथा साथीभाइ कम्बोडियामा गएर अलपत्र परेको तथा लामो समयसम्म बसिरहेको भए जानकारी गराउनसमेत दूतावासले अनुरोध गरेको छ ।
नेपालीहरु आकर्षक तलब सुविधाको प्रलोभनमा परेर पर्यटकीय भिसामा कम्बोडिया जाँदै आएका छन् । उनीहरुको भनाइअनुसार विभिन्न व्यक्ति, साथीभाइ तथा अनलाइन साथी, पबजीलगायत अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापन आदिको माध्यमबाट त्यहाँ पुगेको पाइन्छ । उनीहरुलाई भाइबर, ह्वाट्सएप, टिकटक, टेलिग्राम, मेसेञ्जर आदिमा मेसेज आउने र विभिन्न कार्यालय, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसेप्सनिस्टलगायतका काममा एक लाखभन्दा बढी कमाइन्छ भनेर प्रलोेभनमा पार्ने गरेको पीडितहरुले बताउँदै आएका छन् ।
पीडितहरुले विभिन्न समयमा दिएको बयानअनुसार स्क्यामिङ केन्द्रहरुमा पु¥याइएपछि केही महिना सजिला काममा लगाउने र त्यसपछि कामको निश्चित लक्ष्य दिइने गरेको भेटिएको छ । उक्त लक्ष्य पूरा गर्न नसके अपराधको आरोप लगाएर आर्थिक तथा शारीरिक शोषण गर्ने, बन्धक बनाइ फिरौती माग्ने, जेल पठाउनेदेखि हत्यासम्म गर्ने गरेको भेटिएको छ । सो कामबाट निस्कन खोज्ने व्यक्तिले त्यही काममा अर्को व्यक्ति नल्याएसम्म काम छोड्न नपाएको पीडितले बताउँदै आएका छन् ।
कम्बोडियाको पर्यटनसँग सम्बन्धित तथ्यांकअनुसार सन् २०२१ यता त्यहाँ जाने नेपालीहरुको संख्या बर्सेनि बढेको पाइन्छ । २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा उक्त मुलुक गएका थिए । त्यसपछि २०२२ मा एक हजार ९७७ गएको तथ्यांक छ । त्यस्तै, २०२३ मा दुई हजार ९४०, २०२४ मा छ हजार ४०४ र २०२५ मा नौ हजार ६७६ जना गएको पाइन्छ । भिजिट भिसामा गएकाहरु धेरैजसो लुकीछिपी रोजगारी गरिरहेको हुनसक्ने अनुमान गरिएको छ ।
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर कम्बोडिया जानेहरुको संख्या भने न्यून छ । विभागको तथ्यांकअनुसार आ.व. २०७९/८० मा ५०, ०८०/८१ मा ७३ र ०८१/८२ मा १८० जना रोजगारीको खोजीमा कम्बोडिया गएको तथ्यांक छ । उनीहरु व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।
दक्षिणपूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, लाओस्लगायत मुलुकका स्क्याम केन्द्रमा नेपालीहरु रोजगारीको प्रलोभनमा पु¥याइएका छन् । जसमध्ये सबैभन्दा धेरै कम्बोडियामा छन् । सन् २०२६ को हालसम्म यी तीनवटा मुलुकबाट ५९७ जना नेपालीको उद्धार गरिएकोमा ४७२ जना कम्बोडियाबाट रहेको दूतावासको तथ्यांक छ ।