- श्रमिकहरुले घडेरी किन्न ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने र त्यसबाहेक एक करोड ५० लाख रुपैयाँसम्म नियमानुसार सापटी लिन सक्ने
- विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी÷कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने
- पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुरुवात
काठमाडौं- सरकारले श्रमिकहरुले घडेरी किन्न ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने र त्यसबाहेक एक करोड ५० लाख रुपैयाँसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार यस्तो व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।
कोषले पहिलो पटक यस्तो प्रकारको आवासीय जग्गा खरिदसम्बन्धी कर्जा सुविधा कार्यान्वयनमा ल्याउन लागेको हो । शुक्रबारै मन्त्री यादवले थप महत्वपूर्ण कामको घोषणा गरेका छन् । १३७औं अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताए ।
उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने यादवको भनाइ छ । दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी÷कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गरे । ‘अब तपाईंहरू जहाँ हुनुहुन्छ सरकार तपाईसँगै छ,’ यादवले भने ।
मन्त्री यादवले भिडियो सन्देशमा ‘श्रमको सम्मान नै देश विकासको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए । ‘श्रम कुनै एक पेशा वा वर्गमा सीमित छैन । निर्माण स्थलमा काम गर्ने मजदुरदेखि बिरामीको उपचार गर्ने चिकित्सकसम्म, खेतमा पसिना बगाउने किसानदेखि न्यायका लागि खटिने कानुन व्यवसायीसम्म, घरायसी कार्यमा सहयोग गर्ने घरेलु श्रमिकदेखि प्रविधिको विकास गर्ने इन्जिनियरसम्म ज्ञानको ज्योति फैलाउने शिक्षकसम्म, हामी सबै श्रमिक हौं,’ यादवले भनेका छन् ।
उनले हामी सबै आ-आफ्नो स्थानबाट राष्ट्र निर्माणमा योगदान पु¥याइरहेको उल्लेख गर्दै श्रमिक दिवसको विशेष दिनमा सबैले एक-अर्काको योगदानको मूल्य बुझ्दै सम्मान गर्ने र एक–अर्काप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारलाई अझ सुदृढ बनाउन आवश्यक भएको बताए ।
श्रमिक दिवसमा दूतावासहरु श्रमिकसँग जोडिए
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विदेशस्थित नेपाली दूतावासहरुले फेसबुक लाइभ सुरु गरेका छन् । श्रमिकसँग प्रत्यक्ष जोडिएर उनीहरुको गुनासो तथा समस्यालाई सम्बोधन गर्न दूतावासको आधिकारिक फेसबुक पेजबाट लाइभ सुरु गरिएको जनाइएको छ ।
शुक्रबार साउदी अरेबिया, मलेसिया, ओमान र कुवेतस्थित नेपाली दूतावासले लाइभ कार्यक्रम गरेका छन् । इराकमा भएका नेपालीहरुले भने कुवेतकै लाइभमा जोडिएर प्रश्न सोधेका थिए । श्रमिकको समस्या नै नसुन्ने भन्ने आरोप लागेका दूतावासहरु फेसबुकबाटै भएपनि श्रमिकसँग जोडिएको भन्दै सम्बन्धित मुलुकमा रहेका नेपालीहरुको यो कदमलाई सकारात्मक रुपमा लिएका छन् । लाइभमा जोडिएकाहरुले नेपालमा गरेको करार बमोजिम तलव, बिदा आदि नपाएको, हालैको द्वन्द्वले निम्त्याएका विभिन्न समस्या, आफू कार्यरत मुलुकका कानून, करार अवधि सकिएपछि कम्पनी परिवर्तन गर्न पाइन्छ कि पाइँदैन, छुट्टीको दिनमा दूतावासले पासपोर्ट दिन्छ कि दिँदैन लगायतका प्रश्न साधेका थिए ।
मलेसियास्थित नेपाली दूतावास विगतदेखि नै लाइभमा श्रमिकको गुनासो सुन्दै आएको थियो भने अन्य मुलुकमा शुक्रवारबाट सुरु गरिएको कार्यक्रम नियमित गर्ने भनिएको छ ।