इटिआइएसका अनुसार पोल्याण्डमा सन् २०२५ मा सबैभन्दा धेरै आप्रवासी श्रमिक भित्रिएका छन् । उक्त वर्ष मुलुक भित्रने श्रमिकको संख्या आठ प्रतिशतले वृद्धि हुँदै १२ लाख नौ हजारभन्दा धेरै पुगेको त्यहाँको सामाजिक बिमा कार्यालयको तथ्यांक छ ।
काठमाडौं- रोजगारीका लागि पोल्याण्ड जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । गत वर्ष उक्त मुलुकमा जाने नेपालीको संख्या ३० प्रतिशतभन्दा धेरैले बढेको युरोपियन ट्राभल इन्फरमेसन एण्ड अथोलाइजेसन सिस्टम (इटिआइएस)ले जनाएको छ । पछिल्लो वर्षमा एसिया र दक्षिण अमेरिकाबाट पुगेका कामदार पोल्याण्डको श्रमबजारमा सबैभन्दा छिटो बढिरहेको समूहमध्येमा पर्न थालेको विज्ञले इटिआइएससँग बताएका छन् । जसमा कोलम्बिया, भारत, फिलिपिन्स, नेपाल र भियतनामबाट त्यहाँ गएकाहरु रहेका छन् ।

नेपालीहरु उद्योग, निर्माणलगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ । त्यहाँको सामाजिक बिमा प्रणालीमा सन् २०२३ मा तीन हजार ४८१ जना नेपाली दर्ता भएका थिए । सन् २०२५ को सुरुमा उक्त संख्या बढेर १० हजार ६२७ जना पुगेको तथ्यांक छ । कोभिडपछि नेपालीहरु रोजगारीको खोजीमा पोल्याण्ड जाने क्रम बढेको पाइन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७६/७७ मा ४४८ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति एवं नवीकरण गरेर गएका थिए । त्यसपछि भने संस्थागतरुपमा पोल्याण्ड नगए पनि व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरु बढेका छन् । यस्तो संख्या २०७८/७९ मा एक हजार ८५५, २०७९/८० मा पाँच हजार ११२, २०८०/८१ मा एक हजार ९६९, २०८१/८२ मा एक हजार १६२ जना रहेको छ ।
इटिआइएसका अनुसार पोल्याण्डमा सन् २०२५ मा सबैभन्दा धेरै आप्रवासी श्रमिक भित्रिएका छन् । उक्त वर्ष मुलुक भित्रने श्रमिकको संख्या आठ प्रतिशतले वृद्धि हुँदै १२ लाख नौ हजारभन्दा धेरै पुगेको त्यहाँको सामाजिक बिमा कार्यालयको तथ्यांक छ । पोल्याण्डमा कामदार अभाव र जनसांख्यिक दबाबको कारण विदेशी कामदारको संख्या वृद्धि हुँदै गएको जनाइएको छ ।
विगतदेखि नै युक्रेनी र बेलारुसी श्रमिकहरु धेरै रहेको उक्त मुलुकमा श्रमशक्तिको संरचना परिवर्तन हुँदै गइरहेको छ । दक्षिण अमेरिका तथा एसियाली क्षेत्रहरूबाट आउने कामदारहरुले पोल्याण्डलाई दीर्घकालीन गन्तव्यको रूपमा हेर्न थालेसँगै यस्तो परिवर्तन आएको जनाइएको छ । त्यहाँ विदेशी श्रमको बढ्दो मागको बाबजुद रोजगारदाताले बढ्दो लागत र प्रशासनिक अवरोधहरू सामना गरिरहेको जनाइएको छ । जसअन्तर्गत रोजगार घोषणाको दर्ता गर्ने खर्चमा अत्याधिक वृद्धि, अनुमतिपत्र जारी हुन लामो समय लाग्ने रहेका छन् ।
पोल्याण्डका कम्पनीहरु ट्रक चालक, कम्प्युटर कन्ट्रोल्ड मेसिन अपरेटर, नर्स, प्रोग्रामरजस्ता काममा विदेशी कामदारमाथि निर्भर छन् । पछिल्लो समय विशेषज्ञहरूको माग बढिरहेको जनाइएको छ । त्यहाँका रोजगारदाताले भाषा कौशल र अन्तर्राष्ट्रिय अनुभव भएका कामदार खोजिरहेको बुझिएको छ । त्यहाँको भाषा र आवश्यकतालाई बुझ्न सके उक्त मुलुक नेपालीहरुका लागि राम्रो रोजगार गन्तव्य बन्ने देखिन्छ ।
यद्यपि, युरोपेली संघले त्यस क्षेत्रका मुलुक प्रवेशमा गरेका कडाइले भने विदेशी कामदारको प्रवेशलाई प्रभाव पार्न सक्ने इटिआइएएसले जनाएको छ । २०२६ को अप्रिलबाट सञ्चालनमा आएको प्रणालीका अनुसार गैरइयू नागरिकको प्रवेश र निकासीको तथ्यांक राख्ने र पासपोर्ट स्ट्याम्पको साटो डिजिटल प्रणालीको प्रयोग गर्न थालेको छ । यसले बायोमेट्रिक विवरण पनि संकलन गरेर कुनै पनि व्यक्ति कति समयसम्म बसिरहेका छ भन्ने अनुगमन गर्छ । जसले गैरकानूनी रुपमा यूरोप छिरेर त्यहिँ बस्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने छ । पोल्याण्डले पनि गैरकानूनी रुपमा रहेकाहरुलाई रोजगार दिने रोजगारदाताले पालना गर्नुपर्ने नियम र जरिवानामा कडाइ गरेको छ ।