काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका-७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौँ महानगरपालिका-१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ । मोरङको उर्लाबारी नगरपालिका-९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका-१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।
उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका-८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ ।