काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति लामा, काठमाडौं चन्द्रागिरी बस्ने उदयपुर घर भएका ४९ वर्षीय विष्णु बुढाथोकी र काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन् ।
पक्राउ मध्ये शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २६ लाख ६३ हजार ७ सय १० रूपैयाँ, विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सुस्मिताले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडित १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विष्णुलाई काठमाडौं महानगरपालिका-९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका-१० बाट र शक्तिलाई काठमाडौं महानगरपालिका-१५ डल्लुबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।