काठमाडौं- प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेको छ । सो अवसरमा उनले उक्त भवनको अवलोकन समेत गरेका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको आवश्यकता महसुस गरेर पुन:निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् उपस्थितहरू प्रति कृतज्ञता व्यक्त गर्दै पुन:निर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिए ।
प्रहरी र नागरिकबीचको सुसम्बन्धले मात्र सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै पुन:निर्माण मार्फत नागरिकको तहबाट प्राप्त मायाले प्रहरीलाई थप हौसला प्राप्त भएको र यसको निरन्तरताको समेत अपेक्षा रहेको उनले बताए ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन गर्दै बोली वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउँदै प्रहरी पेशा होइन प्रहरी सेवा हो भन्ने भावका साथ नागरिकको कानुन सम्मत अपेक्षा पूरा गर्न पुन:निर्मित भवनबाट थप प्रेरणा मिल्ने र नागरिक केन्द्रीत सेवा प्रवाहमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम राज तिवारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थियो भने पुन:निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो ।