काठमाडौं- सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका–इरानबीचको तनावका कारण यसअघि स्थगित गरिएको पुनः श्रम स्वीकृति फेरि सञ्चालनमा ल्याइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३१, २०८२ मा भएको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इराकका हकमा भने पुस ११, २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति दिइने उल्लेख गरिएको छ।
यसअघि फागुन १७, २०८२ मा मन्त्रालयले पश्चिम एसिया तथा खाडी क्षेत्रका साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगित गरेको थियो। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षामा जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको थियो।
यसक्रममा चैत ३ गते साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिसकिएको थियो। परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा बाँकी देशका लागि पनि पुनः श्रम स्वीकृति खुला गरिएको हो।
मन्त्रालयले भने ती देशहरूको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै नयाँ श्रम स्वीकृतिबारे निर्णय गरिने जनाएको छ।