काठमाडौं - हुण्डी र क्रिप्टो कारोबारमा ३० लाख नगदसहित संलग्न ४ जनालाई नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गरेकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मार्फत अवैध वित्तीय कारोबार गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट साेमबार चार जना पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२ चैत २२ गते साँझ करिब ७ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट सवन अधिकारीसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट नेपाली नगद ३० लाख रुपैयाँ र USDT (क्रिप्टो) कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा चितवन रत्ननगर नगरपालिका–२ घर भई हाल ललितपुर झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, काठमाडौं तारकेश्वर नगरपालिका–४ लोलाङका २५ वर्षीय आशिष अधिकारी, चितवन भरतपुर महानगरपालिका–८ घर भई हाल काठमाडौं ठमेल बस्ने ३२ वर्षीय रबिन जी.आर. तथा ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।
उनीहरूले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै हुण्डी तथा क्रिप्टो करेन्सी प्रयोग गरी गैरकानूनी वित्तीय कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार गर्न नहुने कसुर तथा दफा १६२ (क) अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।
बरामद सामग्रीमा ३० लाख रुपैयाँ नगद, विभिन्न कम्पनीका ६ थान मोबाइल फोन तथा एप्पल कम्पनीको म्याकबुक (मोडेल नम्बर A2-337) एक थान रहेको प्रहरीले जनाएको छ।