काठमाडौं- वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट ७३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै ५७ लाख रुपैयाँ, थापाले माल्टा पठाउने भन्दै एक जनासँग चार लाख ५० हजार रुपैयाँ, पौडेलले दुई जनासँग चार लाख २० हजार रुपैयाँ र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँग आठ लाख रुपैयाँ रकम लिई बेपत्ता भएका थिए ।