दाङ - दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई सचेतनाबाट कार्यतर्फ भिजी फाउन्डेसनले आर्थिक सहयोग गरेकाे छ । दाङको नारायणपुर-दिखपुर गाउँमा बसोबास गर्दै आएको एक विपन्न परिवारलाई फाउन्डेसनले आपतकालीन राहत सहयोग प्रदान गरेको हाे ।
उक्त परिवारमा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने एक बुबा र उनका तीन साना सन्तान-६ वर्षीया दीक्ष्या, ४ वर्षीया कृतिका र ३ वर्षका चन्दन रहेका छन्। सीमित सीप र रोजगारीको अभावका कारण बुबाले परिवारको आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिनाइ भोगिरहेका छन्।
परिवार हाल गाउँमा वर्षौंदेखि खाली रहेको एक घरमा बस्दै आएको छ, जहाँ उचित ओछ्यान तथा आवश्यक घरायसी सामग्रीसमेत छैन। आमा अर्का व्यक्तिसँग भारत गएपछि बुबाले एक्लै बालबालिकाको हेरचाह गरिरहेका छन्। यस्तो अवस्थामा ६ वर्षीया दीक्षाले नै परिवारका लागि खाना पकाउने जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्।
बालबालिकाहरूले विद्यालय जाने इच्छा व्यक्त गरे पनि घरकाे कमजोर आर्थिक अवस्थाका कारण हालसम्म विद्यालय जान पाएका छैनन्। उनीहरूले भविष्यमा स्थानीय समुदायको सहयोग र आमाको पुनः घर फर्किने आशासँगै अध्ययन सुरु गर्ने चाहना व्यक्त गरेका छन्।
यस घटनाबारे समाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक भएपछि फाउन्डेसनले तुरुन्तै खाद्यान्न सामग्री तथा करिब २० हजार रुपैयाँ बराबरका ५ थान न्यानो कम्बल उपलब्ध गराएको हो।
सहयोग सामग्री हस्तान्तरणका लागि एनआइसी एसिया बैंक घोराही शाखाका प्रबन्धक प्रविन आचार्यले समन्वय गरेका थिए। फाउन्डेसनले यस्ता विपन्न परिवारलाई सहयोग गर्दै समाजमा सचेतना मात्र होइन, व्यवहारिक कार्यमार्फत परिवर्तन ल्याउने लक्ष्य लिएको जनाएको छ।