काठमाडाैं - हाल नेपालमा ह्वाट्सएप (WhatsApp) अकाउन्ट ह्याक गरी नजिकका साथीभाई तथा आफन्तहरूबाट रकम ठगी गर्ने घटनाहरू बढिरहेको पाइएको छ। भ्रामक र छलकपटपूर्ण सन्देशहरूको पछाडि नलाग्न ब्यूरोले आम सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले एक सार्वजनिक सूचना जारी गर्दै अपराधीहरूले व्यक्तिको ह्वाट्सएप कब्जामा लिएर "म समस्यामा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्" वा "मेरो बैंकिङ्ग एपमा समस्या आएकोले पैसा पठाउन सकिन, तपाईं यो QR कोडमा पैसा पठाइदिनुहोस्" जस्ता सन्देशहरू पठाएर ठगी गरिरहेको जनाएको छ।
यस्ता डिजिटल ठगीबाट बच्नका लागि ब्यूरोले विभिन्न सुरक्षा उपायहरू अपनाउन सुझाव दिएको छ। कसैले सामाजिक सञ्जालमार्फत पैसा मागेमा तुरुन्तै विश्वास नगरी सम्भव भएसम्म सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर वास्तविकता बुझ्नु पर्दछ। कुनै पनि शंकास्पद लिङ्क, कोड वा फाइलहरू क्लिक वा डाउनलोड नगर्न तथा आफ्नो मोबाइलमा आउने वान टाइम पासवर्ड (OTP) वा भेरिफिकेसन कोड कसैलाई पनि सेयर नगर्न प्रहरीले सचेत गराएको छ।
यसका साथै आफ्नो सामाजिक सञ्जालको सुरक्षालाई मजबुत बनाउन अनिवार्य रूपमा 'टु-स्टेप भेरिफिकेशन' (Two-Step Verification) सुचारु गर्न र आफ्नो मोबाइल तथा प्रयोगमा रहेका एपहरूलाई नियमित रूपमा अपडेट गरिरहन ब्यूरोले आग्रह गरेको छ। ह्वाट्सएप वेब प्रयोग गरिसकेपछि अनिवार्य रूपमा लग-आउट गर्नुपर्ने र प्रविधिको प्रयोगमा सधैँ सजग रहन समेत ब्यूरोले जानकारी दिएको छ।
यस्ता ठगीका घटना भएमा वा शंका लागेमा तुरुन्तै साइबर ब्यूरोको सम्पर्क नम्बर वा ईमेलमा जानकारी गराउनसमेत सूचित गरेको छ।