एएनआई- पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको हाे ।
सन् २०२१-२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार पाकिस्तानको कुल हतियार आयातमध्ये करिब ८० प्रतिशत चीनबाट आएको छ । सन् २०१६-२० को अवधिमा चीनबाट आउने हिस्सा ७३ प्रतिशत रहेको थियो । यो पछिल्लो अवधिमा अझ बढेको देखिन्छ । चीनले यस अवधिमा ४७ देशलाई प्रमुख हतियार आपूर्ति गरे पनि यसको सबैभन्दा ठूलो हिस्सा पाकिस्तानतर्फ गएको तथ्य प्रतिवेदनले औँल्याएको छ ।
सिप्रीका अनुसार सन् २०१६–२० मा विश्वका प्रमुख हतियार आयातकर्तामध्ये दशौँ स्थानमा रहेको पाकिस्तान सन् २०२१-२५ मा पाँचौँ स्थानमा उक्लिएको छ । यी दुई अवधिबीच पाकिस्तानको हतियार आयात ६६ प्रतिशतले बढेको छ । यो विश्वव्यापी कुल हतियार आयातको करिब ४.२ प्रतिशत हिस्सा हो ।
प्रतिवेदनले दक्षिण एसियामा भारतको अवस्थाबारे पनि उल्लेख गरेको छ । सन् २०२१-२५ मा कुल विश्वव्यापी हतियार आयातको ८.२ प्रतिशत हिस्सा ओगट्दै भारत विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता बनेको सिप्रीले जनाएको छ । प्रतिवेदन अनुसार भारतको हतियार आयात मुख्यतः चीन र पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण प्रेरित भएको देखिन्छ । यी दुई देशबीचको तनावले समय-समयमा सैन्य झडपको रूप लिने गरेको उल्लेख गर्दै प्रतिवेदनले मे २०२५ मा भारत र पाकिस्तानबीच छोटो समयका लागि भएको द्वन्द्वमा दुवै पक्षले आयातित हतियार प्रयोग गरेको जनाएको छ ।
यद्यपि पछिल्लो दशकमा भारतको कुल हतियार आयातमा केही गिरावट आएको प्रतिवेदनले देखाएको छ । सन् २०१६-२० र २०२१-२५ को अवधिबीच भारतको हतियार आयात करिब ४ प्रतिशतले घटेको उल्लेख गर्दै यसलाई घरेलु रूपमा हतियार डिजाइन तथा उत्पादन गर्ने क्षमताको विस्तारसँग जोडिएको बताइएको छ । यद्यपि स्वदेशी उत्पादनमा अझै ढिलाइ हुने प्रवृत्ति रहेको प्रतिवेदनले औँल्याएको छ ।
यसका बावजूद भारत अझै धेरै प्रमुख सैन्य प्रणालीका लागि विदेशी आपूर्तिकर्तामाथि निर्भर रहेको सिप्रीले जनाएको छ । प्रतिवेदन अनुसार फ्रान्सबाट १४० लडाकू विमान र जर्मनीबाट छवटा पनडुब्बी खरिद गर्ने भारतको योजना तथा अर्डरहरूले विदेशी स्रोतमा निर्भरता अझै कायम रहने सङ्केत गर्छन् ।
पछिल्ला वर्षहरूमा भारतले हतियार खरिदको स्रोत पनि विस्तार गरेको देखिन्छ । परम्परागत रूपमा रुसबाट ठूलो मात्रामा हतियार खरिद गर्दै आएको भारतले अहिले पश्चिमी देशहरूतर्फ झुकाव बढाएको प्रतिवेदनले जनाएको छ । विशेषगरी फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकाबाट खरिद बढेको छ । भारतीय हतियार आयातमा रुसको हिस्सा सन् २०११-१५ मा ७० प्रतिशत रहेकोमा सन् २०१६-२० मा ५१ प्रतिशत र सन् २०२१-२५ मा ४० प्रतिशतमा झरेको प्रतिवेदनले उल्लेख गरेको छ ।
सिप्री आम्र्स ट्रान्सफर कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता सिमोन वेजम्यानका अनुसार चीनको बढ्दो सैन्य क्षमता र यसको रणनीतिक उद्देश्यबारेको चिन्ताले एसिया तथा ओसिनियाका धेरै देशको रक्षा नीतिमा प्रभाव पारिरहेको छ । उहाँका अनुसार यस क्षेत्रका धेरै देश अझै आयातित हतियारमा निर्भर छन् ।
वेजम्यानले दक्षिण एसियाको उदाहरण दिँदै भारतले ठूलो मात्रामा हतियार आयात गर्नुको मुख्य कारण चीनबाट देखिएको चुनौती र चीनबाट ठूलो मात्रामा हतियार प्राप्त गर्ने पाकिस्तानसँगको लामो समयदेखिको द्वन्द्व रहेको उल्लेख गरेका छन्। उनका अनुसार सन् २०२५ मा भारत र पाकिस्तानबीच भएको सैन्य तनावका क्रममा पनि आयातित हतियार प्रयोग गरिएको थियो र दुवै देश आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।
सिप्रीको विश्लेषणले सन् २०२१–२५ को अवधिमा विश्वव्यापी हतियार आयातको ठूलो हिस्सा केही सीमित देशहरूमा केन्द्रित रहेको देखाएको छ । युक्रेन, भारत, साउदी अरेबिया, कतार र पाकिस्तानले संयुक्त रूपमा विश्वव्यापी कुल हतियार आयातको करिब ३५ प्रतिशत हिस्सा ओगटेका छन् ।
विश्वव्यापी हतियार निर्याततर्फ हेर्दा संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । यस अवधिमा विश्वव्यापी हतियार निर्यातको ४२ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको प्रतिवेदनमा उल्लेख छ । फ्रान्स ९.८ प्रतिशत हिस्सासहित दोस्रो ठूलो निर्यातकर्ता बनेको छ भने रूस ६.८ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा रहेको छ ।
पछिल्ला वर्षहरूमा रूसको हतियार निर्यातमा उल्लेखनीय गिरावट आएको पनि प्रतिवेदनले देखाएको छ । सन् २०१६-२० मा विश्वव्यापी हतियार निर्यातको २१ प्रतिशत हिस्सा रहेको रूसको निर्यात सन् २०२१-२५ मा घटेर ६.८ प्रतिशतमा झरेको छ । अल्जेरिया, चीन र इजिप्ट जस्ता प्रमुख ग्राहक देशहरूमा निर्यात घट्नु यसका मुख्य कारणका रूपमा उल्लेख गरिएको छ ।
यसैबीच युक्रेनमा जारी युद्ध र बढ्दो सुरक्षा चिन्ताका कारण युरोपमा हतियार आयात उल्लेखनीय रूपमा बढेको छ । प्रतिवेदनका अनुसार सन् १९६० पछि पहिलो पटक विश्वव्यापी हतियार आयातमा युरोपले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । हाल विश्वव्यापी हतियार आयातमा युरोपको हिस्सा ३३ प्रतिशत रहेको छ भने एसिया तथा ओसिनियाको ३१ प्रतिशत र पश्चिम एसियाको २६ प्रतिशत हिस्सा रहेको प्रतिवेदनले जनाएको छ ।