एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा वार्ता गरिरहेका आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिइएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानसँग राम्रो सम्झौता खोज्ने पनि बताएका छन् ।
पहिलेका रिपोर्टहरूले सम्झौता नजिकिँदै गएको सुझाव दिएका थिए । यस क्रममा उनले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौताको आलोचना गरेका छन् ।अमेरिकी मिडियाका अनुसार अहिले छलफल भइरहेका सम्झौतामा ६० दिनको युद्धविराम विस्तार गर्ने, हर्मुज जलडमरू पुनः खोल्ने र इरानको आणविक कार्यक्रममा थप वार्ताहरू समावेश छन् ।
डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि मैले इरानसँग सम्झौता गरेँ भने यो राम्रो र निष्पक्ष हुनेछ । ओबामाको जस्तो सम्झौता होइन, जसले इरानलाई धेरै नगद दियो र आणविक हतियार विकास गर्ने बाटो खोल्यो ।’उनले थप भनेका छन्, ‘हाम्रो सम्झौता ठिक विपरीत छ, तर कसैले यसलाई देखेको छैन र यो के हो भनेर कसैलाई थाहा छैन । यसलाई अझै अन्तिम रूप दिइएको छैन । त्यसैले यसको आलोचना गर्नेहरूको कुरा नसुन्नुहोस् उनीहरूलाई यसको बारेमा केही थाहा छैन ।’
आफूभन्दा अगाडिकाहरूले यो समस्या वर्षाैं अघि नै समाधान गरिसक्नुपर्ने तर उनीहरूले गरेनन् भन्दै उनले आफूले नराम्रो सम्झौता नगर्ने दोहोर्याए ।