एएफपी- चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो।
यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ। उत्तर कोरियातर्फ सडक र भन्सार पूर्वाधारको अभावका कारण यसको सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो। महामारीका बेला बन्द भएका दुई देशबीचका रेल सेवा छ वर्षपछि गत मार्चमा पुनः सञ्चालनमा आएको थियो।
नयाँ पुलले सीमित क्षमता भएको दशकौँ पुरानो चीन-कोरिया मैत्री पुलको विकल्पका रूपमा काम गर्नेछ। अनुसन्धानकर्ता आन चान-इलका अनुसार नयाँ पुलबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्न सक्नेछन्। यसले चीनका वस्तु तथा स्रोतसाधन उत्तर कोरिया पुर्याई त्यहाँको अर्थतन्त्रलाई टेवा दिन सक्ने उनले बताए।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पुल सञ्चालनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। उत्तर कोरियाले भने चिनियाँ पर्यटकका लागि भिसा जारी गर्न सुरु गरेको छैन। उत्तर कोरिया र रुसबीच पहिलो सडक पुल सञ्चालनमा आएको एक महिनापछि चीनसँगको यो पुल खुल्न लागेको हो। विश्लेषकहरूका अनुसार रुससँगको व्यापारमा सैन्य सामग्रीको भूमिका प्रमुख रहे पनि चीनसँगको व्यापारले उत्तर कोरियाको नागरिक अर्थतन्त्र विकास गर्न आवश्यक वस्तु उपलब्ध गराउन सक्छ।