काठमाडौं- आकृति जोशी (२१) ले बिहीबार पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरिन् । काठमाडौं-२ की मतदाता उनले कागेश्वरी मनोहरा-९ मा रहेको गान्धी आदर्श मावि केन्द्रमाबाट आफ्नो जीवनको पहिलो मत खसालेकी हुन् । पहिलो मतदानको अनुभवबाट उत्साहित देखिएकी जोशी स्नातकोत्तर गर्न भने विदेश जान खोज्दै छिन् । निर्वाचनपछि मुलुकमा स्थिरता छाउँदै गए स्वदेश फर्किने नभए उतै बस्ने उनले सुनाइन् ।
‘ब्याचलर पढ्नलाई नै विदेश जाने भनेको तर घरमा सानै छौ भनेर मान्नुभएन । अब मास्टर्स गर्न विदेश नै जाने,’ उनले भनिन्, ‘त्यसपछि नेपालमा राम्रा नेता, पोलिसी आएर अवस्था राम्रो हुँदै गयो भने त्यहाँको एक्सपर्टिज लिएर नेपाल नै फर्किने विचार छ । यदि यहाँ आएर दुःख पाउने अनि उता राम्रो अवसर पाउने भयो भने उतै बस्ने ।’
अधिकांश जेन-जी पुस्तामा मुलुकमै केही गर्नका लागि सहज वातावरण नभएको बताउने मनसाय हावी भएको छ । प्रविधिसँग हुर्किएको यो पुस्तामा राजनीतिक चेतना नभएको र राष्ट्रप्रेमको भावना हराउँदै गएको पनि भनिन्छ । तर आफूहरु मुलुकको राजनीतिप्रति झन् बढी चासो राख्ने र मुलुकमा स्थिरता चाहने जोशी बताउँछिन् ।
‘मेरै साथीहरु प्लसटू गरेर विदेश गएकाहरु छन्, जो अहिलेको पोलिटिक्समा एकदमै इन्टे«स्टेड छन् । उनीहरु नेपालमा के भइरहेको छ, कस्तो भइरहेको छ भनेर सोधिखोजी गर्छन्,’ उनले भनिन्, ‘कुराकानीमा पनि उनीहरु नेपालमै फर्किन खोजेको पाउँछु । तर पोलिटिकल्ली स्टेबल हुनप¥यो र भविष्यप्रति अहिले जुन अन्योलता छ त्यो कम हुनप¥यो ।’
सोही मतदान केन्द्रमा भेटिएका आयुस केसी (१९)ले यसपालिको चुनावी माहोलले केही आशा जगाएको बताए । देशको अवस्था हेर्दा आयुसलाई पनि विदेश जानु नै ठीक जस्तो लाग्छ । तर निर्वाचनबाट चुनिएर गएकाहरुले प्रणालीमा सुधार ल्याए नेपालमै बस्ने उनले बताए । ‘यसपालि माहोल राम्रो छ । पुरानालाई च्यालेञ्ज गर्ने नयाँ-नयाँ आइडियोलोजी आएको छ । यो पटक केही हुन्छ भन्नेमा आशावादी छौं, तैपनि हुन्छ नै भन्ने पनि छैन,’ उनले भने, ‘राम्रो अप्सन विदेश जानु नै जस्तो लाग्छ । तर अहिले पर्खिम अनि ब्याचलर सक्किएपछि देशमा कुनै पनि विकल्प नै भेटिएन भने त जाने हो ।’
इञ्जिनियरिङमा स्नातक गर्दै गरेका आयुस विदेश जान्छन् या जाँदैनन् भन्ने निक्र्योल अब बन्ने सरकारको कामले गर्ने छ । युवाहरु यहीँ बस्नका लागि आफ्नो क्षमता र दक्षताअनुसारको काम पाउनुपर्ने उनको भनाइ छ । ‘देशको आर्थिक अवस्था राम्रो हुनुप¥यो । युवाहरुले जब खोजिरहेको सेक्टरको ग्रोथ हुनुप¥यो,’ उनले थप भने, ‘उदाहरणका लागि म इञ्जिनियरिङ गर्दै छु । इण्डस्ट्रिजको सेक्टरमा मेरो धेरै काम हुन्छ । फरेन इन्भेस्टमेन्ट ल्याएर इण्डस्ट्रिज बुम गराउनप¥यो । त्यसपछि हामी यही बस्छौं ।’
सोही मतदान केन्द्रमा भेटिएका दीपेश श्रेष्ठ (२५) ले भने मतदाता नामावलीमा नाम दर्ता नै गरेका रहेनछन् । श्रीमतीलाई मतदान गर्न ल्याएका उनी निर्वाचनप्रति उत्सुक थिएनन् । रसियामा डेढ वर्ष रोजगारी गरेर फर्किएका उनलाई अब बन्ने सरकारले परिवर्तन ल्याउनेमा विश्वास छैन । ‘यहाँ बसेर केही गर्छु भन्दा गर्न नपाइने स्थिति सानैदेखि देखेको हो नि त,’ श्रेष्ठले भने, ‘हामी जस्तै २५-२६ वर्षको उठेको भए हाल्थे पनि होला । अरुलाई हाल्न मन लागेन । अहिले उठेकाहरु पछि गएर पैसाको लोभले बिग्रिने नै हो ।’
दीपेश फेरि विदेश नै जाने तयारी गर्दै छन् । मुलुकको हरेक क्षेत्रमा घुसेको राजनीति र देखिएको नातावाद, क्रिपावादका कारण हैरान भएका उनले सिस्टमकै कारण मुलुक छोड्न बाध्य भएको सुनाए । ‘नेपालमा बसेर पनि नेपालीजस्तो नभई पार्टीको कार्यकर्ताजस्तो हुनपर्ने अवस्था छ । कि त हाइ पोस्टको मान्छे समाउनप¥यो । नत्र केही गर्नै सकिँदैन,’ उनले भने, ‘नेपाल आएको छ-सात महिना भयो । अब फेरि जाने तयारी गर्दै छु । सानो बच्चाहरुलाई सोध्दा पनि पछि विदेश जाने भन्छन् । सुन्दा मजा आउँदैन तर पनि बाध्यता हो ।’
मतदान गरेर फर्किएकी गोमा पाण्डे (२८)मा भने यसपटकको चुनावले सकारात्मक परिवर्तन ल्याउने आशा थियो । जेन-जी आन्दोलनपछि मतदाताका साथै नेताहरु पनि सचेत भएकाले नेतृत्वमा जानेहरु प्रतिबद्धताका साथ जाने उनको अपेक्षा छ । अधिवक्तासमेत रहेकी पाण्डेका अनुसार युवाहरु स्वदेशमा बस्न नचाहनुको मूल कारण भ्रष्टाचार नै हो ।
‘मुलुकमा केही गर्नलाई माहोल बनाइदिने काम नेतृत्वले गर्नुपर्छ । अन्य मुलुकमा सेवाग्राहीले ‘अन द स्पट’ सेवा पाउँछन् । तर हाम्रोमा माथिदेखि तलसम्म सबैलाई ढोग्नपर्छ,’ उनले भनिन्, ‘मैले आफैं पनि कानुन व्यवसायको क्षेत्रमा यति धेरै भ्रष्टाचार देखेको छु र यो भ्रष्टाचार सबै क्षेत्रमा उत्तिकै छ । मान्छेहरुलाई सानोतिनो उद्योग नै गर्छु भन्दा पनि रजिस्ट्रेसनमै पैसा खुवाउनपर्छ । सिस्टमको यस्तो लुप होलहरु हट्यो भने मुलुकमै केही गर्न सकिन्छ ।’
आकृति, आयुस, दीपेश त प्रतिनिधिमूलक पात्रमात्र हुन् । पछिल्लो समय युवा पुस्ताले आफ्नो उज्ज्वल भविष्य विदेशमामात्र देख्न थालेको छ । केही वर्ष अघिको तुलनामा विदेसिनेहरुको संख्या बसेनि बढ्दो छ । गत आर्थिक वर्ष २०८१÷८२ मा आठ लाख ३९ हजार २६६ जनाले रोजगारीको खोजीमा मुलुक छोडेका थिए । चालु आर्थिक वर्षको माघसम्म मुलुकमा पाइने रोजगारीले जीविकोपार्जन गर्नै धौधौ भएपछि रोजगारी खोज्दै खाडीदेखि युरोपका विभिन्न मुलुक पुग्नेहरु ४० लाखभन्दा बढी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक छ ।
साथै, अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडालगायतका विकसित मुलुक गएर उतै बस्ने प्रवृत्ति पनि डरलाग्दो देखिन्छ । एसइई, प्लसटू या ब्याचलर सक्काएकापछि अध्ययन भिसाको नाममा कन्सल्टेन्सी धाउनेको भीड बढेको छ । २०७१ सालभन्दा अगाडिसम्म केही हजारले लिँदै आएको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनेहरुको संख्या हाल बर्सेनि एक लाख पुग्ने गरेको छ । उच्च शिक्षाका लागि भनिए पनि यसरी जाने अधिकांश रोजगारी र सुरक्षित भविष्यकै लागि गएको बताउँछन् ।
स्वदेशमा केही गर्छु भन्नेहरुका लागि नीतिगत अप्ठ्याराहरु, सानो काम गर्न पनि पैसा र पावरको सहायता लिनुपर्ने, राजनीतिक अस्थिरता, भ्रष्टाचारलगायतका कारण युवाहरु विदेसिन बाध्य भएका छन् । बिहीवार भएको निर्वाचनबाट बन्ने नयाँ सरकारले यो अवस्थाको अन्त्य गर्नेमा धेरै मतदाता आशावादी देखिन्छन् ।
चुनावी मैदानमा अधिकांश नयाँ अनुहार हुँदा ‘मतदातामा अबचाहिँ केही होला कि’ भन्ने आशा जागेको देखिएको छ । प्रविधिको प्रयोगबाट दशौं लाख रोजगारी सिर्जना गर्ने, स्वदेशमै उद्यम गर्ने वातावरण सिर्जना गर्ने, श्रमको सम्मान गर्नेलगायत आकर्षक एजेण्डा बोकेकाहरुले सरकारमा पुगेपछि उक्त वाचा कत्ति पूरा गर्छन् त्यो भने हेर्न बाँकी छ ।