काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विवाद सुल्झिनेमा अनिश्चितता देखिएको छ । अध्यक्ष भुवनसिंह गुरुङ र राजीनामा दिएको पक्ष आ-आफ्नै अडानमा रहँदा विवाद लम्बिने देखिएको हो । बुधबारसम्म दुईपक्षबीच संवादसमेत हुन सकेन ।
अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रथम उपाध्यक्ष, महासचिवसहित कार्यसमितिका ११ जनाले सामूहिक राजीनामा दिएका थिए । बहुमत पदाधिकारीसहित ११ जनाको राजीनामासँगै अध्यक्ष गुरुङ अल्पमतमा परेको दाबी गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रियामा जानुपर्ने उनीहरुले माग गरेका छन् । तर, अध्यक्ष गुरुङ त्यसलाई स्वीकार गर्न तयार छैनन् । उनले राजीनामा आफ्नो हातमा नआएको भन्दै स्वीकृत नहुने बताइरहेका छन् । संघको विधानअनुसार राजीनामा स्वीकृत हुन प्रक्रिया नपुग्ने उनको भनाइ छ ।
यता, गत सोमबार पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा बुझाएकाहरु राजीनामा फिर्ता लिएर ‘ब्याक’ हुने स्थितिमा देखिँदैनन् । राजीनामा दिनेमध्येका एक पदाधिकारीले आफूहरुले राजीनामाको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराइसकिएकोले अब प्रशासनले नै विवाद टुंग्याउने बताए । ‘हामी जिल्ला प्रशासनको निर्णय पर्खिरहेका छौं,’ उनले भने, ‘यही स्थितिमा भुवनसिंह गुरुङको कार्यसमितिमा फर्कंदैनौं ।’
राजीनामा दिएका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धन माया सिञ्जाली रहेका छन् । त्यस्तै, सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले सामूहिक राजीनामापत्रमा हस्ताक्षर गरेका छन् । गुरुङ पक्षमा भने उनीसमेत गरी १० जना रहेका छन् । जसमा द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, सदस्यहरु राज लामा तामाङ, सुवर्ण लामा, विद्यालक्ष्मी बज्राचार्य, सुमनराज पाण्डे तथा गुरुङले मनोनीत गरेका चार जना सदस्यहरु रहेका छन् ।
२०८१ चैत २८ मा भएको निर्वाचनबाट निर्वाचित अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमिति आधा कार्यकाल नसकिँदै विवादमा फसेको हो । विघटनतर्फ उन्मुख भएपछि अध्यक्ष गुरुङ असन्तुष्ट सबैलाई राजीनामा फिर्ता गराउने प्रयासमा लागेका छन् । उनीपक्षीय एक कार्यसमिति सदस्यका अनुसार आन्तरिक कलह मिलाउनकै लागि अध्यक्ष गुरुङले राजीनामा अस्वीकृत गर्ने तयारी गरेका छन् । तर असन्तुष्ट पक्ष निर्णयबाट टसमस नहुने देखिएको छ ।
चुनावमा एउटै प्यानलबाट जितेका अध्यक्ष गुरुङ र महासचिव बस्नेतबीचको विवादले संघ यो स्थितिमा आएको बताइन्छ । कार्यसमितिभित्र गुटबन्धी गराउन भूमिका खेलेको आरोपमा अध्यक्ष गुरुङले सल्लाहकारद्वय धनलाल जैसी र नवराज केसीलाई हटाएका थिए । त्यसपछि महासचिव बस्नेतले अध्यक्ष गुरुङलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । तर, गुरुङले उल्टै बस्नेतलाई निलम्बन गरिदिए । उक्त निलम्बनसँगै बस्नेतसहित पाँच जना पदाधिकारी र छ जना सदस्यले सामूहिक राजीनामाको घोषणा गरेका थिए । राजीनामा घोषणासँगै उनीहरुले संघको सिफलस्थित कार्यालयमा वैशाख १४ गते ताला लगाएका थिए । भोलिपल्ट वैशाख १५ मा अध्यक्ष गुरुङपक्षले ताला तोड्यो ।