काठमाडाैं- फिल्म ‘मितज्यू’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार मात्र छायांकन सकिएको फिल्म ‘मितज्यू’को पोस्टर सार्वजनिक गरिएको हाे ।
पहाडी भूगोललाई पृष्ठभूमिमा राखिएको पोस्टरले फिल्मको कथावस्तु प्रेम त्रिकोण, पात्रहरूको आत्मसम्मानको लडाइँ र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ । निर्माण पक्षले गत वर्षको माघमा फिल्मको निर्माण घोषणा गर्दा सार्वजनिक गरेको पेन्टिङ पोस्टरमा आधारित रहेर फर्स्टलुक तयार पारिएको छ । फिल्मका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई पोस्टरमा देख्न सकिन्छ । दयाहाङ र सौगातबीच पञ्जा लडाइँको दृश्य समावेश पोस्टरमा तेरिया भने मालवहाक गाडीको बोनटमाथि बसेकी छन् । मगर समुदायको मौलिक पहिरनमा प्रस्तुत भएकी उनी रिसाएको भावमा देखिएकी छन् ।
अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको यस फिल्ममा दयाहाङ र सौगात र तेरियासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
शिशिर बिशंखेको छायांकन रहेको यस फिल्मका सम्पादक लोकेश बज्राचार्य हुन् । फिल्ममा प्रभात विष्टको द्वन्द्व निर्देशन, नवीन श्रेष्ठको साउन्ड डिजाइन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । रोहित-रत्न समूहको आरआर फिल्म्सले देशभर वितरण गर्ने यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते प्रदर्शन हुने जनाइएको छ ।