काठमाडाैं - आगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा संवेदनशिलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले निर्देशन दिएका छन् । कार्य बिभाग प्रमुख अतिरिक्त महानिरीक्षक ठाडा मगरले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुबाट फागुन ७ गते भर्चुअल माध्यम मार्फत सशस्त्र प्रहरी बल नेपालका इकाईहरुलाई सो निर्देशन दिएका हुन् ।
उनले निर्वाचन सुरक्षालाई अभियानको रुपमा लिई सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाचन सुरक्षामा खटिनु पर्ने बताउदै निर्वाचनको अवधिभर जिल्ला सुरक्षा समितिसँग सहकार्य गरी भुगोल अनुसार योजना बनाई कार्यान्वय गर्न समेत निर्देशन दिए । अतिरिक्त महानिरीक्षक ठाडा मगरले फिल्ड तहको सुरक्षा चुनौती तथा समस्याहरु समाधान हुने गरी सुरक्षा योजना बनाई परिचालन हुनुपर्नेमा जोड दिनुहुँदै सूचना संकलनलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिएका छन् ।
उनले आफ्नो व्यावसायिक दक्षताको अधिकतम प्रयोग गरी निर्वाचनमा खटिदा कुनै प्रकारको गल्ती नगरी परिचालन हुनुपर्ने बताउदै यदि बल प्रयोग गर्ने अवस्था सृजना भएमा मानवअधिकारको समेत विशेष ख्याल गर्न निर्देशन दिएका छन् ।