काठमाडाैं- 'आ बाट आमा’काे कमाइ ५ करोड नाघेकाे छ । यस वर्ष ५ करोड कमाउने यो उनको दोस्रो फिल्म हो ।
प्रचारसहित २ करोड रुपैयाँको लागतमा बनेको ‘आ बाट आमा’ले लगानी उठाएर नाफा कमाउन अझै १ करोड ग्रस (साढे ६ करोड) व्यापार गर्नुपर्छ । त्यो हुँदा मात्र फिल्म ‘हिट’ कहलिनेछ । फिल्मको व्यापारिक रफ्तर हेर्दा उक्त आँकडा टाढा देखिँदैन । दोस्रो सातामा पनि फिल्मको व्यापार सुखद रहेकाले यसले १० करोडमाथि कमाउन सक्ने प्रक्षेपण गरिएको छ ।
‘आ बाट आमा’ले उत्साहजनक व्यापार गर्दा पलको स्टारडम फेरि एकपटक उत्कर्षमा पुगेको छ । यस वर्ष ५ करोड कमाउने यो उनको दोस्रो फिल्म हो । यसअघि गत साउनमा प्रदर्शन भएको फिल्म ‘मोहर’ले पनि ५ करोड रुपैयाँमाथिको व्यापार गरेको थियो । यो हिसाबले पलका लागि २०८२ साल फलदायी सावित भएको देखिन्छ । अब फिल्ममा उनको माग र पारिश्रमिक बढ्ने निश्चित छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पलसहित विपना थापा, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।