काठमाडौं - नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको अभियोगमा ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा माउण्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष काठमाडौं टोखा नगरपालिका-८ धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-१ घर भएका ४७ वर्षीय जयराम रिमाल तथा सोही प्रालिका मेनेजर चितवन राप्ती नगरपालिका-५ घर भएका ३२ वर्षीय विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-९ बस्ने ४२ वर्षीय मुक्ति पाण्डे तथा सोही प्रालिका अपरेशन डिपार्टमेन्ट प्रमुख सोही नगरपालिका-९ बस्ने ४६ वर्षीय सुवास केसी र नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ३९ वर्षीय रबिन्द्र अधिकारी तथा सोही प्रालिका अपरेशन मेनेजर काठमाडौं महानगरपालिका-१६ बस्ने ३९ वर्षीय विवेक थपलिया रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण कीर्ते गर्ने गरेको, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल समेतका कागजातहरू तयार गरी/गराई उद्दार गरिएको व्यक्तिको नामको बीमा रकमको झुठ्ठा दाबी गरेको खुल्न आएको छ ।
उनीहरू उपर राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरूमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।