काठमाडौं - युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-६ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ घर भएका ३९ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हाे ।
थापाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट आइतबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।