काठमाडौं - सेबोनमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिको खुलेआम विरोध गर्दै आएका सेयर कारोबारी तथा ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई धरौटीमा छुट्ने भएका छन् । सेयर कारोबारी तथा ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाललाई सेयरको भित्री कारोबारको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहन पर्ने आवश्यकता नभएको उल्लेख गर्दै आइतबार काठमाडाैं जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो ।
सेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सेयरको भित्री कारोबारको आरोप लगाएका थिए । अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया थालिएको सीआईबी स्रोतले जनाएको छ ।
अग्रवाललाई १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो । उनलाई पक्राउ परेलगत्तै केही मिडियाहरुमा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सेबोनमा वर्षौदेखि थन्किएका अन्य फाइल पनि अगाडि बढाइने र भित्री कारोबार लगायतका गलत गतिविधिमा संलग्नहरुलाई नछाड्ने बताएका थिए ।
हालसम्म अरु कुनै पनि यस्ता केशका फाइलहरु प्रहरी वा अन्य निकायमा फरवार्ड नभएको सेबोन स्रोतले पुष्टि गरेको छ ।पक्राउ परेलगत्तै दीपेन्द्र अग्रवाललाई सीआईबीको हिरासतमा राखी थप अनुसन्धान गरिएको थियो । उनले हिरासतभित्रै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूमाथि पूर्वाग्रही भएर कारबाही गराउने काम गरेको भन्दै अनसन पनि थालेका थिए ।
उनले भोक हड्ताल समेत गरेका थिए । उनले हिरासतभित्रै सेबोनमा बढेको भ्रष्टाचार अन्त्य हुनुपर्ने र सेबोन अध्यक्षलाई निलम्बन गर्नुपर्ने माग राखेका थिए । पक्राउ परेको केही दिनपछि परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने र सीआईबीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।