काठमाडौं- नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्डका विद्युतीय सवारीसाधनको अधिकृत विक्रेता भीजी मोटर्सले ७ सिटर क्षमताको एसआरएम विद्युतीय भ्यान सार्वजनिक गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा वरिष्ठ अभिनेता सुनिल थापाले भ्यानको अनावरण गरेका हुन् ।
५० किलोवाट मोटर जडान गरिएको यो भ्यानले एकपटक चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। भ्यानको मूल्य ३९ लाख रुपैयाँ तोकिएको छ। कर्पोरेट हाउस, होटल, स्कुललगायत संस्थागत प्रयोजनका लागि यो भ्यान उपयुक्त मानिएको छ।
कम्पनीका अनुसार नेपालभर ७० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा छन् भने यसका स्पेयर पार्ट्सको लागत अन्य ईभीको तुलनामा करिब ८० प्रतिशत सस्तो पर्छ।
भ्यान सार्वजनिक समारोहका अवसरमा ईभीसम्बन्धी मिथक र भविष्यबारे कार्यशाला पनि आयोजना गरिएको थियो, जहाँ विज्ञहरूले प्रदूषण घटाउने, सञ्चालन खर्च कम हुने र ईभीको दीर्घकालीन लाभबारे जानकारी दिएका थिए।