काठमाडौं- पश्चिम नेपालको विश्वसनीय तथा उदयोन्मुख अग्रणी सिमेन्ट उद्योग भुगर्भ सिमेन्ट लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा काठमाडौँ महानगरपालिका-११ स्थित सिटिसी मलमा सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष नन्दी केशर पौड्यालले उद्योगको हालसम्मको प्रगति, भविष्यका योजना र वित्तीय अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार कम्पनीले दीर्घकालीन स्वावलम्बन तथा प्रतिस्पर्धात्मक उत्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित प्रतिदिन ८०० देखि १००० मेट्रिक टन क्षमताको रोटरी प्लान्ट स्थापना प्रक्रिया अघि बढाएको छ ।
अध्यक्ष पौड्यालले आर्थिक वर्ष २८१/८२ सम्म कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको बताए । अध्यक्ष पौड्यालले भने,‘२०८२ असार मसान्तसम्म तिर्नुपर्ने सम्पूर्ण ब्याज तथा बक्यौता रकम समयमै चुक्ता गरिएको जानकारी दिँदै यसलाई कम्पनीको वित्तीय अनुशासनको स्पष्ट प्रमाणका रूपमा उल्लेख गरेको छ । उद्योगले प्रत्यक्ष रूपमा फ्याक्ट्री, कार्यालय तथा खानीमार्फत सयभन्दा बढी नेपालीलाई रोजगारी दिएको छ भने ढुवानी, वितरण र डिलर सञ्जालमार्फत हजारौँलाई अप्रत्यक्ष रोजगारी सिर्जना भएको उनको भनाइ छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले चुनढुंगा खानी रोयल्टी, सामाजिक सुरक्षा कोषमा योगदान, स्थानीय कर भुक्तानी तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । खानी क्षेत्रका स्थानीय विद्यालयमा एक जना शिक्षकको वार्षिक तलब, विद्यार्थीलाई न्यानो कपडा वितरण, वृक्षारोपण कार्यक्रम लगायतका कार्यमार्फत उद्योगले स्थानीय समुदाय र राष्ट्रप्रति उल्लेखनीय योगदान पुर्याउँदै आएको अध्यक्ष पौड्यालले बताए ।
उत्पादन वृद्धि, वित्तीय अनुशासन, कर्जा व्यवस्थापन र पुँजी सुदृढीकरणका माध्यमबाट पछिल्ला वर्षहरूमा स्थिर प्रगति हासिल गरेको कम्पनीले पश्चिम नेपालका उपभोक्ताको अपेक्षा अनुसार बलियो, भरपर्दो र गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने प्रतिबद्धता यथावत् रहेको जनाएको छ ।