काठमाडौं– चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । मंसिर १८ गते रिलिज हुने चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
सुुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्दरचना छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ ।
सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ । प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।
‘अभिमन्यु : च्याप्टर–१’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।