काठमाडौं- गीतकार माधव न्यौपानेको पछिल्लो सिर्जना ‘कठै म त’ सार्वजनिक भएको छ । एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टसको प्रस्तुतिमा रहेको ‘कठै म त’ गीति कथामा खुमन अधिकारीको सङ्गीतमा रहेको छ भने माधव न्यौपानेको शब्द सिर्जना रहेको छ ।
गीति कथा ‘कठै म त’मा खुमन अधिकारी, देवी घर्ती मगर, शान्ति श्री परियार र सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ ।‘कठै म त’को भिडियोमा लक्ष्मी गिरी, गौरव पहाडी, सिरु विष्ट, विशाल पहाडी, मोहन खड्का, सरिता दानकुटी, स्वस्तिका लामिछाने, विपना घिमिरे, विनिराम न्यौपाने, दिपसागर, विराज सापकोटालगायतको जीवन्त अभिनय रहेको छ ।
‘कठै म त’ को भिडियोलाई टेकेन्द्र शाहको सम्पादन गरेका छन् भने करण चैसर र काश गुरुङले छायांकन गरेका छन् । न्यौपानेकै कथा, निर्माण र निर्देशन रहेको छ । ‘कठै म त’ गीति कथा निर्मला हत्याकाण्डपछिको सिर्जित कथा र गीतमा केन्द्रीत रहेको गीतकार न्यौपानेले बताए । समाजमा हुने गरेको बलात्कारलाई मूलभूत रूपमा उठान गरिएको न्यौपानेको दाबी छ । उनले निर्मला हत्याकाण्ड मात्र नभएर आफ्नै पारिवारिक घेराभित्र भएको बलात्कारको घटनाले पनि यो सिर्जना गर्न उत्प्रेरित गरेको दाबी गरेका छन् ।
महिलामाथि हुने गरेको हिंसालाई न्यूनीकरणको ध्येयले निर्माण गरिएको गीत र कथाले सामाजिक सन्देश बोकेको हुँदा धेरैको माझमा पु¥याउनका लागि एउटा सूचकको रुपमा सिर्जनालाई लिएको बताए । पछिल्लो समयको परिवर्तनसँगै अराजकता पनि फैलिएको बताउँदै गीतकार न्यौपानेले छोरीहरू असुरक्षित हुनुपर्ने समाजले कस्तो परिवर्तन गरिरहेको छ भन्ने शंका बढेको पनि बताए ।
गीतकार माधव न्यौपानेले ‘कठै म त’ गीति कथा तयार हुन ७ वर्ष लागेको बताए । अष्ट्रेलियामा कर्मभूमि बनाउँदै आएका न्यौपाने ६ महिनामा नेपाल फर्कन्छन् र गीतसंगीत क्षेत्रमा नयाँ नयाँ सिर्जना दिँदै आएका छन् । उनी अष्ट्रेलियामा पनि कलाकारहरुलाई निम्तो गर्छन् नेपाली कला संस्कृतिलाई त्यहाँ प्रस्तुत गर्दै आएका छन् । एमएम इन्टरटेनमेन्ट एन्ड इभेन्टसमार्फत उनले नेपालका चर्चित कलाकारहरुलाई अष्ट्रेलियामा निम्तो गरेर नेपाली संस्कृति झल्काउने गरेका छन् ।
गीतकार न्यौपानेका गरीबको किताब, थररर, अन्तिम पल्ट, ठोक्यो दमाहा, बैमानी, बसाउनी तेलैले, हरियो डलर, मै आउँछु दौडेर, माटोको कसम, लकडाउनको डोरी लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् । विदेशको माटोमा पसिना बगाउँदै गर्दा स्वदेशको सम्झनाले सताउने हुँदा पनि नेपाली कलासंस्कृतिमा अझै लगानी गर्न, सिर्जना गर्न प्रेरित गरिरहेको गीतका न्यौपाने बताउने गर्छ ।