नेपालको सन्दर्भमा हेर्दा पनि यो आन्दोलनले संविधान वा वर्तमान व्यवस्थाको विकल्प खोजेको होइन, बरु यही संविधानभित्र सुधार र उत्तरदायित्वको माग उठाएको हो । सुधारका लागि निरन्तर जनदबाब आवश्यक हुन्छ, किनकि दबाबविना सत्ता सुस्त र अकर्मण्य बन्दै जान्छ । त्यसैले, यो आन्दोलनले संरचनागत परिवर्तन होइन, व्यवहारगत सुधारतर्फ ध्यान केन्द्रित गरेको छ । जनताको आवाज सत्तासम्म पु¥याउने माध्यमका रूपमा रहेको छ । जब राजनीति सुस्ताउँछ, त्यस्ता सामाजिक आन्दोलनहरूले नै त्यसमा चेतना र गति भरिदिन्छन् । यही कारणले यो आन्दोलन अस्थिरताको होइन, सुधार र पुनर्जागरणको संकेत हो ।
नेपालको इतिहासमा २०७२ सालको संविधान निश्चय नै एक अद्वितीय उपलब्धि र लोकतान्त्रिक यात्राको महत्वपूर्ण कोशेढुंगा हो । तर, यो संविधान जारी भएको एक दशक पुग्दा पनि संविधानको पूर्णकार्यान्वयन हुन नसक्नु देशका नागरिकका लागि निराशाको विषय बन्यो । यही असन्तुष्टिको छालमा जनताको मनभित्र दह्रिएको आक्रोश अन्ततः सडकमा प्रस्फुटित भयो ।
भदौ २३ गतेको आन्दोलनमा युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिता देखिनु, हाम्रो समाजमा राजनीतिक चेतना अझै जीवन्त छ भन्ने प्रमाण हो । तर त्यसको भोलिपल्ट भदौ २४ गते यही आन्दोलनमा अराजकतावादी शक्तिहरूको घुसपैठ भएको कुरा स्वयं आन्दोलनकारीपक्षले नै स्वीकार गरिसकेको छ । यहीँबाट आन्दोलनको मूल उद्देश्य आंशिकरूपमा धुमिल भएको देखिन्छ ।
जेन–जी पुस्ताको यो उठानलाई मूलतः व्यवस्थामा सुधार ल्याउने जनदबाबका रूपमा लिनुपर्छ । यो उनीहरूको विद्रोह होइन, बरु सुधार र उत्तरदायित्वको खोजी हो । आखिर संविधानको पूर्णकार्यान्वयन र संघीयतालाई जनताको घर–घरमा अनुभूत हुने प्रणाली बनाउन पनि कहिलेकाहीँ दबाब र आवाज आवश्यक पर्छ नै । तर, यही शुद्ध आन्दोलनमा घुसपैठ गरी राज्यको स्थायित्वलाई कमजोर पार्ने, भयको वातावरण सिर्जना गर्ने तत्वहरूलाई भने निर्ममतापूर्वक नियन्त्रण गर्नैपर्छ । युवा पुस्ताको ऊर्जा र आक्रोश सही दिशामा प्रवाहित हुँदा त्यो राष्ट्रको शक्तिको प्रतीक बन्छ; गलत हातमा परे भने त्यो शक्ति विनाशको कारक पनि बन्न सक्छ । यही सन्तुलनमा आजको नेपालको आशा र चुनौती दुवै निहित छन् ।
सामाजिक सञ्जालबाट आह्वान गरिएका आन्दोलनहरू प्रायः स्पष्ट नेतृत्वविहीन हुन्छन् । जेन–जी पुस्ताको आन्दोलनमा पनि त्यस्तो स्पष्ट नेतृत्व देखिएन । इतिहासले प्रमाणित गरिसकेको छ– नेतृत्वविहीन आन्दोलनहरूले राजनीतिक रूपान्तरणका दृष्टिले ठूला उपलब्धि हासिल गर्न कठिन हुन्छ । विश्वका अरु देशमा भएको आन्दोलनले पनि यही कुरा पुष्टि गर्छ । ट्युनिसियाको जनआन्दोलन, इण्डोनेसियाको परिवर्तन यात्रा वा फ्रान्सको ‘एल्लो भेस्ट’ आन्दोलन– यी सबैले दिशाहीन नेतृत्वका कारण दीर्घकालीन राजनीतिक नतिजा निकाल्न सकेनन् ।
नेपालको सन्दर्भमा हेर्दा पनि यो आन्दोलनले संविधान वा वर्तमान व्यवस्थाको विकल्प खोजेको होइन, बरु यही संविधानभित्र सुधार र उत्तरदायित्वको माग उठाएको हो । सुधारका लागि निरन्तर जनदबाब आवश्यक हुन्छ, किनकि दबाबविना सत्ता सुस्त र अकर्मण्य बन्दै जान्छ । त्यसैले, यो आन्दोलनले संरचनागत परिवर्तन होइन, व्यवहारगत सुधारतर्फ ध्यान केन्द्रित गरेको छ । जनताको आवाज सत्तासम्म पुर्याउने माध्यमका रूपमा रहेको छ । जब राजनीति सुस्ताउँछ, त्यस्ता सामाजिक आन्दोलनहरूले नै त्यसमा चेतना र गति भरिदिन्छन् । यही कारणले यो आन्दोलन अस्थिरताको होइन, सुधार र पुनर्जागरणको संकेत हो ।
भदौ २४ गतेको विनाशकारी घटनाले हाम्रो समाजमा गहिरो मानसिक, सामाजिक र आर्थिक प्रभाव पारेको छ । विशेषगरी बालबालिका, युवा, वृद्ध र प्रहरीहरूमा परेको मनोवैज्ञानिक आघातबाट उनीहरूलाई सामान्य जीवनमा फर्किन धेरै समय लाग्ने छ । राजनीतिक दलका कार्यालय, जनप्रतिनिधि, व्यवसायी र उद्योगपतिका निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीले सामाजिक सद्भावमा गम्भीर दरार पारेको छ । यस घटनापछि अब इमानदार मनले राजनीतिमा प्रवेश गर्न चाहने नयाँ पुस्ता पनि सोच्न बाध्य हुने स्थिति बनेको छ । अर्कोतर्फ, जसले आफ्ना घर–परिवार र सम्पत्ति गुमाए, तिनीहरूमा बदलाको भावना जन्मिन सक्ने खतरा छ, जसले समाज फेरि द्वन्द्व र हिंसातर्फ धकेल्न सक्छ ।
त्यस दिनकै घटनाले करिब १० हजार कैदीबन्दी जेलबाट भागेका छन्, जसमा बलात्कार, हत्या, मानव बेचविखन र देशद्रोहजस्ता गम्भीर अपराधमा संलग्नहरू पनि छन् । ती व्यक्तिहरू अझै समाजमै घुमिरहेका छन्, जसले कानुनी व्यवस्था र शान्तिसुरक्षामा ठूलो चुनौती सिर्जना गरेको छ । आर्थिक दृष्टिले पनि देशले ठूलो धक्का व्यहोरेको छ । प्रारम्भिक अनुमानअनुसार सार्वजनिक र निजी सम्पत्तिमा कम्तीमा १०० खर्ब रुपैयाँको क्षति पुगेको अनुमान छ । यस्तो अवस्थामा राज्यको स्रोत र ऊर्जा भौतिक पुनर्निर्माणमै केन्द्रित हुन पुग्ने छ, जसले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासजस्ता क्षेत्रमा लगानी घटाउने छ ।
नेपालका ठूला संरचना निर्माणका सामग्री र स्रोत प्रायः विदेशबाट आयात हुने भएकाले देशको पुँजी बाहिर जाने छ, जसले आन्तरिक व्यापार कमजोर पार्ने छ । परिणामस्वरूप आर्थिक वृद्धिदर घट्ने, बेरोजगारी बढ्ने र महँगी चुलिने निश्चित छ । युवाहरू अझ ठूलो संख्यामा रोजगारीको खोजीमा विदेसिने खतरा पनि देखिन्छ । त्यससँगै, गिट्टी, बालुवा, ढुंगा र काठजस्ता सामग्रीहरूको अत्यधिक दोहनले वातावरणीय असन्तुलन निम्त्याउने छ, जुन दीर्घकालीनरूपमा हाम्रो प्रकृति र समाज दुवैका लागि हानिकारक हुने छ । राजनीतिक आन्दोलनहरू देश परिवर्तनका माध्यम हुन्, तर हिंसाले कहिल्यै पनि स्थायित्व ल्याउन सक्दैन । अहिलेको चुनौती समाजमा विश्वास पुनस्र्थापना गर्नु, कानुनी शासन बलियो बनाउनु र आर्थिक पुनर्जीवनका लागि सन्तुलित दृष्टिकोण अपनाउनु हो ।
मेरो राजनीतिक यात्रा र अबको लक्ष्य
म पहिलोपटक टेलिभिजनका पर्दाबाट जनताको घरमा पुग्ने अवसर पाएँ । प्रस्तोता र मोडलको रूपमा काम गर्दै म सिनेमा र सञ्चारको माध्यमबाट चिनिन थालेँ । त्यसपछि ‘चपली हाइट’, ‘भिजिलान्ते’ चलचित्रमा नायकको रूपमा अभिनय गर्ने मौका मिल्यो । त्यो स्थानसम्म पुग्नका लागि मैले गरिबी, अभाव र तिरस्कारका थुप्रा रातहरू पार गरेको थिएँ । त्यो यात्रा मेरो जीवनको कठिन तर प्रेरणादायी अध्याय थियो । तर, जब म माथि पुग्दै थिएँ, मभन्दा अझ कठिन परिस्थितिमा बाँचिरहेका मानिसहरूको अनुहार देखेँ । उनीहरूमा आफ्नै विगत झल्किन्थ्यो । त्यतिबेलै मनमा लाग्यो–म केवल पर्दामामात्र होइन, उनीहरूको जीवनमा पनि उज्यालो ल्याउन सक्छु । सानो सहयोगबाट सुरु भएको त्यो यात्राले मलाई राजनीतिक र सामाजिक सेवाको बाटोतर्फ डोर्यायो ।
दीर्घकालीन परिवर्तनका लागि राजनीति नै मुख्य माध्यम हो भन्ने बुझें । त्यसैले म सीधा जनतामाझ पुग्ने जिम्मेवारी लिन वडाध्यक्षको उम्मेदवार बनेँ । संघीय वा प्रदेश तहको चुनाव लड्न सक्थेँ, तर मेरो मन आफ्नो समुदाय र गाउँसँगै जोडिएको थियो । त्यसैले म वडाको नेतृत्वका रूपमा जनताको जनमतबाट निर्वाचित भएँ ।
राजनीतिक प्रतिस्पर्धामा मेरो वडा निकै चुनौतीपूर्ण छ । नेकपा एमालेका बागमती प्रदेशसचिव तथा पूर्वसंघीय सांसद नवराज सिलवाल, गोदावरी नगरपालिकाका उपप्रमुखका पाँच प्रत्यासी यही वडाका हुन् । यहाँ माओवादीको जनाधार कमजोर थियो । तर म निर्वाचित हुन सकें । मैले जित्नु भनेको विगतमा मैले जनताको सेवामा गरेको निरन्तर प्रयासको परिणाम भएको ठान्छु । म विश्वास गर्छु, जब हामी मनदेखि जनताको सेवा गर्छौं, जनताको समर्थन अवश्य पाइन्छ । हाम्रो व्यवहार र उनीहरूको अपेक्षा मेल खाँदा विश्वास र मत स्वतः आउँछ ।
म दुःखको पहाड चढेर आएको मान्छे हुँ, गरिब परिवारमा जन्मेँ, त्यसैले त्यहाँको जीवन बुझ्छु । म जनतासँग शासकका रूपमा होइन, परिवारका सदस्यका रूपमा व्यवहार गर्छु । यही मेरो सफलताको मुख्य आधार हो । आज पनि म १२५ जना अशक्तलाई औषधि वितरण गर्छु, सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्छु, विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गर्छु । यही मेरो काम हो, यही मेरो कर्तव्य हो । सीमान्त र गरिबहरूको पक्षमा काम गर्नकै लागि राजनीतिमा प्रवेश गरेको हुँ ।
गोदावरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ भनेर निरन्तर लागिरहेको छु । यसो गर्न सकियो भने यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने छ । गोदावरीमा होमस्टेका साथै आधुनिक होटल खोल्ने क्रम बढेको छ । हामीले पर्यटन प्रवद्र्धनका लागि धेरै काम गरेका छौं । गोदावरीको होमस्टेलाई सुदृढ गर्नका लागि यस वडामा भएका विभिन्न जातजाति, धर्म संस्कृति, रीतिरिवाज झल्किने खानपिन, बसोबास आदिलाई पहिचान दिलाउनेगरी सांस्कृतिक कार्यक्रम, प्रदर्शन, तालिमको व्यवस्थासमेत गरेका छौं । यो क्रम निरन्तररूपमा बढ्ने छ । यसले गोदावरीवासीलाई पर्यटन व्यवसायी बनाउन मद्दत गर्ने छ ।
गोदावरी–३ लाई म केवल नमूना वडामात्र बनाउने छैन, देशकै उत्कृष्ट वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको छु । मैले निर्वाचित भएदेखि मेरो चुनावी प्रतिबद्धताअनुसार काम गरेको छु । सबै निर्णय र कार्यक्रम जनताको आवश्यकता, पारदर्शिता र समुदायको सहभागितामा आधारित छन् । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास र वातावरणीय संरक्षणमा केन्द्रित कार्यक्रमहरू कार्यान्वयन गर्दै हामीले सीमान्तकृत र विपन्न वर्गसम्म पनि सेवा पुर्याइरहेका छौं ।
जब वडाका प्रत्येक नागरिकलाई आफ्नो अधिकार, सहयोग र अवसर उपलब्ध हुन्छ, तबमात्र वडाको समग्र विकास सम्भव छ । म आफ्नो अनुभव, प्रतिबद्धता र जनताको विश्वासमा आधारित भएर, अविचलित रहँदै, गोदावरीलाई देशकै उदाहरणीय र उत्कृष्ट वडा बनाउने यात्रामा निरन्तर अघि बढिरहन्छु ।