सहिद आफैंमा महान् हुन्छन्, त्यसमाथि सहिदका आफन्तहरु मिलेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै द्वन्द्वमा परी जीवन नै धरापमा परेका बालबालिकाहरुको उद्धारका लागि स्वास्थ्य शिक्षा र सामाजिक उत्तरदायित्वका लागि कृषि र सीपमूलक कार्य गर्न सामाजिक संस्था नै खोलेर सेवा कर्म गर्दछ भने त्यो भन्दा महान् कर्म अरू के नै हुन सक्ला र ?
हो, यस्तै कर्म गर्ने व्यक्तित्व हुन्, गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय रामेश्वर श्रेष्ठ । रामेछापको लिखु गाउँपालिका निवासी स्व. श्रेष्ठ आफैंमा धेरै पढे लेखेका थिएनन् । तर, १० वर्षे जनयुद्धकालमा द्वन्द्वबाट प्रभावित कतिपय युवाहरु कि त सहर कि त विदेश पलायन भएको उनले देखे । युद्धका कारण गाउँबाट विस्थापित भएकाहरु सहर केन्द्रित भएका थिए । गाउँमा उही उत्पीडित कतै पहुँच नभएकाहरु मात्र थिए । उनीहरुको स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा र गाँस बासकोबारे कसैको ध्यान पुग्न सकिरहेको थिएन । यस्तो जटिल अवस्थामा स्वयम् रामेश्वरसमेत उत्पीडनबाट अछूतो रहन सकेनन् ।
द्वन्द्वकै क्रममा आफ्ना दुई सन्तान ओखलढुंगा पोकलीका गणेशकुमार श्रेष्ठ र उज्जन (भुवन) श्रेष्ठले एक साथ सहादत प्राप्त गर्न पुग्दछ । उक्त घटनाबाट विक्षिप्त आफ्ना सन्तानहरुलाई पनि रामेछापका आङछिरिङ शेर्पाको समन्वयमा काठमाडौंको मातातीर्थमा स्थापित ब्राइट होराइजन अनाथालयमा राख्न बाध्य भए । त्यही घटनाको पीडादायक अनुभव साट्दै स्व. रामेश्वरले अक्षयकोष स्थापना गरी सहिद गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठान गठन गरेका हुन् ।

जुनसुकै द्वन्द्वमा परेका बालबालिकालाई तत्काल चाहिने सेवा भनेको स्वास्थ्य, शिक्षा र सीपमूलक तालिम हो । यही सेवा पु¥याउनु नै प्रतिष्ठानको मुख्य लक्ष्य बन्यो । सुरुमा आफैं अक्षयकोष खडा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट गुठीमार्फत सेवा दिन थाले । पछि आफन्त, इष्टमित्र र अभियन्ताहरुबाट समेत रकम थपियो । त्यसको ब्याजबाट चारवटा जिल्लामा सेवा विस्तार गरियो । लिखु बेल्टलाई अभियानको मुख्य कार्यक्षेत्र बनाइएता पनि काठमाडौं, ललितपुर, भक्तपुर र रामेछाप चार जिल्लालाई समेटियो । प्रतिष्ठानको संरक्षकत्व समाजसेवी राजकुमार श्रेष्ठ र व्यवसायी गणेशमान योञ्जनले ग्रहण गरेपछि प्रतिष्ठानको कार्ययोजना झनै चुस्त र प्रभावकाली बन्दै जान थालेको छ ।
प्रतिष्ठानमा हाल सावित्री श्रेष्ठ अध्यक्ष छिन् । ‘पीडाका पाँच हजार दिन’ नामक पुस्तककी लेखक सावित्रीले एनपिओ आशा जापानको सहयोगमा लिखु तामाकोशी गाउँपालिकामा डिजिटल प्रविधिबाटै प्राथमिक स्वास्थ्य सेवा सञ्चालन र तालिम दिन थालेपछि प्रतिष्ठानको साख थप चुलिन थालेको बताइन्छ । विश्वव्यापी युद्धमा परेका बालबालिका, ज्येष्ठ नागरिकलाई पहिलो आवश्यकता नै डिजिटल स्वास्थ्य सेवा, शिक्षा र गास बासका लागि तालिम हो । प्रतिष्ठानले यही उद्देश्य कार्यान्वयनका लागि सम्बन्धित वडा, स्थानीय समाजसेवी अभियन्तासँग मिलेर सेवा र तालिम दिँदै जाने रहेको उनी बताउँछिन् ।
हालसम्म प्रतिष्ठानले नौ वटा विद्यालय भवन निर्माण, तीनवटा विद्यालयमा आइसिटी केन्द्र स्थापना, ४२ जनालाई पूर्ण छात्रवृत्ति, हरेक वर्ष ६०० विद्यार्थीलाई स्टेसनरी र ९३० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा रामेछापको दुर्गम लिखु क्षेत्रमा दुईवटा स्वास्थ्य केन्द्र स्थापना, डिजिटल स्वास्थ्य सेवामार्फत घरघरमा आमा र नवजात शिशु ज्येष्ठ नागरिकलाई सेवा पु¥याउँदै आइरहेको छ । यसैगरी, स्वास्थ्यकर्मीलाई तालिम र स्रोत साधन प्रदान गरिएको छ । समुदायिक क्षेत्रमा १२० परिवारलाई पिउनेपानीका लागि धारा निर्माण, २८७ भूकम्पपीडित परिवारलाई राहत वितरण र ३२ वटा अस्थायी घर निर्माणमा सहायता प्रदान गरेको छ ।
यसका अलावा सहिद पार्कदेखि फुटबल खेल मैदान निर्माण, मानवअधिकार मिडिया पुरस्कार प्रदान, जेन–जी युवाहरुलाई सामाजिक कार्यमा क्रियाशील गर्न खेलकुद आदि कार्यक्रमसमेत गर्दै आइरहेको छ । प्रतिष्ठानले द्वन्द्वपीडित, अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सेवा दिँदै आइरहेको छ । प्रत्येक वर्ष बालअधिकारको प्रवद्र्धन, स्वास्थ्य सेवाको सुधार र दिगो विकासका लागि ग्रामीण समुदायलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आइरहेको छ । जेन–जी आन्दोलनकै अवसर पारेर आयोजित फुटसल प्रतियोगितामा विजयी युवाहरुले सहिद हुनु गौरवको कुरा भए पनि सहिदको चाहनाअनुरुप राजनेताहरुबाट काम हुन नसक्नु पीडाको विषय भएको बताएका थिए । यस्ता सामाजिक गतिविधिले हार जितभन्दा पनि स्वास्थ्य सुधार, शिक्षामा टेवा र सामाजिक सेवामा युवा जमातलाई नेतृत्व गर्न उत्साहित गराउन भूमिका खेलेको छ ।