काठमाडौं- सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर युट्युबमार्फत सार्वजनिक भएको हो ।
३ मिनेभन्दा लामो ट्रेलरले फिल्मको मुख्य कथा प्रस्तुत गरेको छ । एक छोराले आमा र देशको रक्षाका लागि गर्ने लडाइँको कथामा यसमा छ । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ । अभिनेता समीर भट्टलाई केन्द्रमा राखिएको ट्रेलरमा एक्सन, संवाद, ब्याकग्राउन्ड स्कोर, र छायांकन पक्ष बलियो देखिएको छ भने प्रोडक्सन भ्यालु भव्य देखिन्छ । ट्रेलरको अन्तिममा समीरको एउटा संवाद छ, ‘देश बेच्ने कुटिलको बली, नत्र मातृभूमिका लागि यो ज्यान बलिदान ।’ यसले फिल्मको मूल कथा र पात्रको संघर्षलाई झल्काएको छ ।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल, सन्तोष सेन र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । सौगात र समीरबीच द्वन्द्वका दृश्य पनि ट्रेलरमा देख्न सकिन्छ । अर्पण नेताको भूमिकामा प्रस्तुत छन् । अभिनेत्री ऋचा शर्मा भने समीरकी आमाको भूमिकामा देखिएकी छन् । ट्रेलरमा उनको भावनात्मक संवादले दर्शकलाई देशभक्ति र क्रोधको गहिरो भावनामा डुबाउँछ ।
आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बलिदान’मा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायतको पनि अभिनय रहेको छ । यो फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । यो वर्षको दशैंको फूलपाती (१३ असोज) मा प्रदर्शन हुन लागेको ‘बलिदान’ले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।