कञ्चनपुर- जेनजी भनेर कुटपिट गरिएको भन्दै नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए। धानुकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन्।उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी जानकारी दिए।
शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका थिए।आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए। केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए।
‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्यो। मलाई नांगै बनाएर दौडायो, गाइज।’ मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन्।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।