बुटवल- रूपन्देहीका उद्योगी व्यवसायी र सरोकारवालाहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन्। सोमबार रुपन्देही उद्योग संघको वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त आग्रह गरेका हुन्।
उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत समस्या, करको भार, जग्गाको अभाव, बैंक ऋण लिदा हुने कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न तीन तहकै सरकारले पहल गर्नुपर्ने उनीहरुको माग छ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले उद्योगीका समस्या तीनै तहका सरकारसँग जोडिएको बताए। उनले रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र तथा अर्थतन्त्रको जग भएको उल्लेख गर्दै उद्योग बलियो नभएसम्म सम्बन्धित क्षेत्रको विकास सम्भव नहुने धारणा राखे।
मन्त्री चौधरीले केही नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको स्वीकार गरे। बैंकको ब्याजदर घटे पनि उद्योगीहरूले सहजरूपमा ऋण प्राप्त गर्न नसकेकोप्रति उनले चासो व्यक्त गरे। सफल उद्योगीहरूमाथि भएका गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनेको पनि उनले उल्लेख गरे।
मन्त्री चौधरीले औद्योगिक क्षेत्रको व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गर्दै प्रदेश सरकारले काम गर्न खोजे पनि संघीय सरकारबाट आवश्यक सहयोग र अधिकार प्राप्त हुन नसकेको गुनासो पोखे।
साधारणसभामा सहभागी उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति आवश्यक रहेको बताएका छन्।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले संघमा वर्षभरि भएका गतिविधि प्रस्तुत गर्दै उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै स्थानमा कर तिर्नुपरेको, स्पष्ट निति नियमको अभाव, उद्योग विस्तारका लागि पर्याप्त जग्गा अभाव तथा नीतिगत जटिलताका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको गुनासो गरे। उनले स्वदेशी उद्योगलाई टिकाउने नीति बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा अपेक्षित आर्थिक प्रजातन्त्र स्थापित हुन नसकेको बताए। उनले अन्तर्राष्ट्रिय राजनीतिक समस्याका कारण मूल्यवृद्धि बढेको र बजारमा अस्थिरता देखिएको चर्चा गरे।
सरकारले चाहेजस्तो सेवा दिन नसकेको स्वीकार गर्दै सांसद खरेलले विगतमा देखिएका धेरै समस्या समाधानको प्रक्रियामा रहेको जानकारी दिए। निजी क्षेत्रका प्रतिनिधिलाई सीधै पक्राउ नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा लगानीको वातावरण निर्माण आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाललगायतले आ-आफ्नो धारणा राखेका थिए।